ताजा समाचार

बर्ड फ्लु : लक्षण, जोखिम र रोकथामका उपाय

बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) कुखुरा तथा अन्य पन्छीमा लाग्ने अत्यन्तै संक्रामक विषाणुजन्य रोग हो। यो रोग मानिसमा पनि सर्न सक्ने भएकाले जनस्वास्थ्यका दृष्टिले समेत निकै संवेदनशील मानिन्छ।
यो रोग पहिलो पटक सन् १८७८ मा पहिचान गरिएको थियो भने सन् १९९७ मा हङकङमा पहिलो पटक मानिसमा संक्रमण पुष्टि भएको थियो। त्यसयता एसिया, अमेरिका, अफ्रिका र युरोपका विभिन्न मुलुकमा यो रोग फैलिएको छ।
नेपालमा सन् २००९ (वि.सं. २०६५) मा झापा जिल्लामा कुखुरामा H5N1 भेरियन्ट पहिलो पटक पुष्टि भएको थियो। त्यसयता केही वर्षबाहेक विभिन्न जिल्लामा पटक–पटक संक्रमण देखिँदै आएको छ। सन् २०१९ मा नेपालमा पहिलो पटक H5N1 संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको थियो।
रोगको कारक तत्व
बर्ड फ्लु Orthomyxoviridae समूहको Influenza A Virus का कारण हुने विषाणुजन्य रोग हो। यस भाइरसमा रहेका हेमाग्लुटिनिन (H) र न्युरामिनिडेज (N) प्रोटिनका आधारमा विभिन्न प्रकारमा वर्गीकरण गरिएको छ।
H5N1 उच्च संक्रामक (Highly Pathogenic Avian Influenza) प्रजाति हो भने H9N2 कम संक्रामक (Low Pathogenic Avian Influenza) प्रजाति हो। नेपालमा देखिने अधिकांश संक्रमण H5N1 प्रजातिको रहेको पुष्टि भएको छ।
मुख्य लक्षणहरू
कुनै लक्षण नदेखाई एक्कासी धेरै कुखुराको मृत्यु हुन सक्छ।
मृत्यु हुनुभन्दा केही घण्टा अघि श्वासप्रश्वासमा समस्या, घ्यारघ्यार तथा छिउँछिउँ गर्ने।
लोती, शिर तथा खुट्टा निलो हुने।
खुट्टामा रक्तश्राव देखिने।
पक्षघातजस्ता लक्षण देखिनु।
पातलो दिसा लाग्नु।
अण्डा उत्पादनमा ठूलो गिरावट आउनु।
अण्डाको खोल पातलो, आकार नमिलेको तथा गुणस्तर कमजोर हुनु।
दानाको खपत बढ्नु र उत्पादन घट्नु।
रोगको पहिचान
एक्कासी धेरै पन्छी मर्न थालेमा बर्ड फ्लुको शंका गर्न सकिए पनि यसको अन्तिम पुष्टि प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्र गर्न सकिन्छ।
रोग कसरी सर्छ?
संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्कबाट।
श्वासप्रश्वासमार्फत।
र्‍याल, सिंगान, खकार तथा दिसाबाट।
संक्रमित दाना, पानी तथा उपकरणबाट।
संक्रमित पन्छी बोकेका भाँडाकुँडा वा सवारी साधनबाट।
जंगली चरामार्फत अन्य पन्छीमा।
रोकथामका उपाय
यस रोगको प्रभावकारी उपचार नभएकाले रोकथाम नै सबैभन्दा राम्रो उपाय हो।
खोरमा कडा जैविक सुरक्षा (Biosecurity) अपनाउने।
खोरमा जाली लगाई जंगली चराको प्रवेश रोक्ने।
खोरको प्रवेशद्वारमा कीटाणुनाशकयुक्त फुटबाथ राख्ने।
अन्य फार्मका उपकरण प्रयोग नगर्ने।
खोरभित्र छुट्टै चप्पल, एप्रोन र पोशाक प्रयोग गर्ने।
अनावश्यक व्यक्तिको प्रवेश रोक्ने।
मरेका पन्छीलाई खुला ठाउँमा नफालेर सुरक्षित रूपमा गाड्ने वा पशु प्राविधिकको सल्लाहअनुसार व्यवस्थापन गर्ने।
डोल्पावासीका लागि विशेष अनुरोध
डोल्पामा नेपालगञ्ज, सुर्खेत, जाजरकोट लगायतका जिल्लाबाट नियमित रूपमा कुखुरा तथा अन्य पन्छी भित्रिने भएकाले सबै किसान, व्यवसायी र मासु पसल सञ्चालकले पशु चिकित्सकको स्वास्थ्य प्रमाणपत्र (Health Certificate) भएका पन्छी मात्र खरिद तथा ढुवानी गर्नुपर्छ।
कुखुरामा माथि उल्लेखित कुनै पनि लक्षण देखिएमा जिल्ला पशु सेवा कार्यालय वा नजिकको पशु प्राविधिकलाई तत्काल जानकारी गराउनुहोस्। साथै, जिल्ला प्रवेश गर्ने नाकाहरूमा नेपाल प्रहरीले स्वास्थ्य प्रमाणपत्रको अनिवार्य जाँच गरी सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने आवश्यकता छ।
समयमै सचेत बनौं, जैविक सुरक्षा अपनाऔं र बर्ड फ्लुबाट आफ्ना पन्छी, व्यवसाय तथा जनस्वास्थ्यको संरक्षण गरौं।

तपाईको प्रतिक्रिया