ताजा समाचार

भिरबाट ढुंगा खस्दा डाेल्पाकाे सर्मीमा घर क्षतिग्रस्त, ६५ घरधुरी जोखिममा

विष्णुप्रसाद देवकोटा
अविरल वर्षाका कारण डोल्पाको मुड्केचुला गाउँपालिका–७ सर्मीमा भिरबाट ढुंगा खस्दा एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनासँगै दलित बस्तीका करिब ६५ घरधुरी जोखिममा परेका छन्।
शुक्रबार साउन २९ गते दिउँसो करिब १ बजे गाउँमाथिको भिरबाट ठूलो ढुंगा खस्दा सर्मीको माथिल्लो गाउँमा दुई बालिका दिदीबहिनी बस्दै आएको घरमा क्षति पुगेको हो। घटनामा मानवीय तथा चौपाया क्षति भने भएको छैन।
घटना भएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सर्मीबाट प्रहरी सहायक निरीक्षक उत्तमबहादुर बोहोराको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले स्थानीयवासीको सहयोगमा बालिकाहरूका लत्ताकपडा तथा अन्य भौतिक सामग्री सुरक्षित स्थानमा सार्न सहयोग गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
घर क्षतिग्रस्त भएपछि दुवै बालिका हाल फुपुको घरमा सुरक्षित रूपमा बसिरहेका छन्।
यसैबीच, वर्षाका कारण बस्तीमाथिको भिर जोखिमपूर्ण बनेपछि सर्मीको दलित बस्तीका करिब ६५ घरधुरी जोखिममा परेको स्थानीयले बताएका छन्। निरन्तर वर्षा भइरहेकाले थप क्षति हुन सक्ने भन्दै स्थानीयले सम्बन्धित निकायलाई समयमै जोखिम न्यूनीकरण तथा सुरक्षित स्थानमा स्थानान्तरणका लागि पहल गर्न आग्रह गरेका छन्।
प्रहरी टोलीले स्थानीय बासिन्दालाई विपद्का घटनाबाट सुरक्षित रहने उपायबारे समेत जानकारी गराएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
जोखिममा रहेको बस्तीको स्थलगत निरीक्षण गरी तत्काल आवश्यक सुरक्षा तथा राहतको व्यवस्था गर्न सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायको ध्यान जान आवश्यक देखिएको छ।

तपाईको प्रतिक्रिया