डोल्पा । नेपाल मानवअधिकार संगठन (हुरीयोन) जिल्ला शाखा, डोल्पाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन मानव अधिकार र प्रचलित कानुनअनुसार सम्पन्न गर्न आग्रह गरेको छ।
संस्थाले मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १, डोल्पालाई पत्र बुझाउदै निर्वाचन प्रक्रिया निष्पक्ष, भयमुक्त र शान्तिपूर्ण बनाउन ध्यानाकर्षण गराएको हो।
पत्रमा मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा पत्र र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रले प्रत्येक नागरिकलाई स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत आफ्ना प्रतिनिधि छान्ने अधिकार सुनिश्चित गरेको उल्लेख गरिएको छ। नेपालको संविधान तथा निर्वाचनसम्बन्धी ऐन–नियमावलीले पनि सोही अधिकारको प्रत्याभूति गरेको संस्थाको भनाइ छ।
हुरीयोनले विशेषगरी डोल्पा जिल्लाका केही पालिकामा मतदाताको अनुमति बिना अरू व्यक्तिले मतदान गर्न खोज्ने, आर्थिक प्रभाव वा प्रलोभनका आधारमा मत प्रभावित पार्ने, जिल्ला बाहिरका व्यक्तिलाई मतदान गराउने प्रयास, मतदानस्थलमा अवाञ्छित गतिविधि हुने जस्ता गम्भीर आशंका र गुनासा उठेको जनाएको छ। यस्ता गतिविधिले निर्वाचनको स्वच्छता र विश्वसनीयतामाथि प्रश्न उठ्ने चेतावनी दिइएको छ।
संस्थाले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै कानुनको मर्म र भावना अनुरूप स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न अपिल गरेको छ।
हुरीयोन डोल्पाका सभापति अधिवक्ता पूर्णप्रसाद हमालद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सुरक्षा निकायहरूलाई पठाइएको जनाइएको छ।

डोल्पा न्यूज । १७ फाल्गुन २०८२, आईतवार २१:०५