ताजा समाचार
डाेल्पा जुफालमा कांग्रेसकाे बृहत चुनावी आमसभा

घाँटी ताक्ने होइन, हातेमालो गर्ने राजनीति चाहिन्छ: कांग्रेस उपसभापति शर्मा 

विष्णुप्रसाद देवकोटा

डोल्पा ।चुनावी सरगर्मी चुलिँदै गर्दा नेपाली कांग्रेस का उपसभापति विश्वप्रकाश शर्मा ले डोल्पाबाट शान्ति, सहकार्य र सुशासनको राजनीतिक सन्देश दिएका छन्। ठुलीभेरी नगरपालिका–केन्द्र जुफालस्थित सेराज्युलामा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै उनले हिंसात्मक राजनीतिले देशलाई पछाडि धकेलेको र अब विकासका लागि हातेमालो अपरिहार्य भएको बताए।

“एकले अर्काको घाँटी ताक्ने होइन, हातेमालो गर्ने राजनीति चाहिन्छ,” उनले भने, “देशलाई बनाउने हो भने सहकार्यको बाटो रोज्नैपर्छ।”

शर्माले कर्णाली र डोल्पाको भूगोलप्रति सम्मान व्यक्त गर्दै यहाँको प्राकृतिक सौन्दर्य, संस्कृति र इमानदार जनताको प्रशंसा गरे। विश्वका धेरै देशहरू अघि बढिसक्दा नेपाल पछाडि पर्नुको मुख्य कारण दस वर्षे सशस्त्र द्वन्द्व भएको उल्लेख गर्दै उनले शान्ति प्रक्रियामार्फत मुलुकलाई स्थायित्वतर्फ डोर्‍याउने काम कांग्रेस नेतृत्वमै सम्भव भएको दाबी गरे।

तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला को नेतृत्वमा जनयुद्ध शान्ति प्रक्रियामा आएको स्मरण गर्दै उनले त्यसपछि विद्युत्, सडक, पुल, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा उल्लेखनीय प्रगति भएको जिकिर गरे।

उनले आगामी दिनमा गगन कुमार थापा प्रधानमन्त्री बने देशलाई समावेशी र पारदर्शी ढंगले अघि बढाइने दाबी गरे। “भ्रष्टाचारमुक्त शासन हाम्रो संकल्प हो। पहिलो काम आफ्नै सम्पत्तिको छानबिनबाट सुरु हुन्छ,” उनले भने।

डोल्पाको पर्यटन सम्भावनातर्फ संकेत गर्दै उनले दक्षिण एसियामा घुम्न आउने पर्यटकका लागि डोल्पा आकर्षणको केन्द्र बन्न सक्ने बताए। “युरोप जानु परे स्वीट्जरल्यान्ड सम्झिएजस्तै, दक्षिण एसिया आउँदा डोल्पा सम्झिने अवस्था बनाउन सक्छौँ,” उनले भने। हिमाल, जडिबुटी, मठमन्दिर र फोक्सुण्डो तालजस्ता सम्पदाले डोल्पालाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउन सकिने उनको धारणा थियो।

सभामा प्रतिनिधिसभा सदस्य उम्मेदवार कर्ण बुढाले आफ्नो उम्मेदवारी भ्रष्टाचार, विकृति र विसंगतिविरुद्धको अभियान भएको बताए। उनले डोल्पाको समुन्नत विकास र सुशासनका लागि अत्यधिक मतसहित विजयी गराउन मतदातासँग आग्रह गरे।

कार्यक्रम कांग्रेस डोल्पाका कार्यवाहक सभापति लबकुमार शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो। जिल्लाका नेता–कार्यकर्ता र मतदाताको उल्लेख्य सहभागिता रहेको सभामा उपसभापति शर्मालाई बाजागाजासहित स्वागत गरिएको थियो। उनी हेलिकप्टरमार्फत डोल्पा पुगेका थिए।

तपाईको प्रतिक्रिया