विष्णुप्रसाद देवकोटा
भेरी करिडोरअन्तर्गत डोल्पाको सदरमुकाम दुनैदेखि लासिक्याप हुँदै सिसौलसम्मको सडक निर्माणले अब गति लिने भएको छ। अत्यन्तै दुर्गम र भिरालो भूभागमा पर्ने उक्त सडक खण्डको ट्रयाक खोल्ने जिम्मा सरकारले नेपाली सेनालाई दिने निर्णय गरेसँगै वर्षौँदेखि अलपत्र रहेको निर्माण कार्य अघि बढ्ने भएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चाैलागाईको विशेष पहलमा २०८१ चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले भेरी करिडोरको महत्वपूर्ण खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो।
कर्णाली प्रदेशभित्र पर्ने भेरी करिडोर एनएच–५७ अर्थात् राष्ट्रिय राजमार्ग अन्तर्गत छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम सडक खण्डमा पर्ने डोल्पा जिल्लाको लासिक्यापदेखि सिसौलसम्म करिब ३३ किलोमिटर सडक अत्यन्तै भिरालो र कडा चट्टान भएको भूभागमा पर्छ। कठिन भौगोलिक अवस्थाका कारण सडकको मापदण्डअनुसार ट्रयाक खोल्न कठिन भएकाले सो काम नेपाली सेनालाई जिम्मा दिने निर्णय गरिएको हो।
मन्त्री चौलागाईंका सल्लाहकार अङ्गलला रोकायाका अनुसार उक्त निर्णयले डोल्पाको विकट क्षेत्रमा सडक पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। उनका अनुसार हिमाली पर्यटन क्षेत्रको विकासमा समेत यो सडक कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ।
भेरी करिडोर बाँकेको जमुनाहबाट सुरु भएर सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिम हुँदै डोल्पाको दुनै, धो र तिन्जे पार गर्दै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानासम्म पुग्ने योजना रहेको सडक हो। चीन, नेपाल र भारतलाई जोड्ने त्रिदेशीय सडक सम्भावना भएकाले यस सडकलाई रणनीतिक तथा व्यापारिक दृष्टिले महत्वपूर्ण मानिन्छ।
२०७५ साल मंसिर ४ गते डोल्पाको त्रिपुराकोटसम्म ट्रयाक खोलेर सडकको औपचारिक उद्घाटन गरिएको थियो। तर उद्घाटन भएको वर्षौँ बितिसक्दा पनि भेरी करिडोरले अझै पूर्णता पाउन सकेको छैन।
भेरी करिडोर आयोजना कार्यालय जाजरकोटका अनुसार सुर्खेतको छिन्चुदेखि डोल्पाको मोरिम्लासम्म करिब ३ सय १७ किलोमिटर सडक पर्छ। यसमध्ये छिन्चुदेखि जाजरकोटसम्मको १ सय ७ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।
त्यसैगरी जाजरकोटको खलंगा बजारदेखि रिम्ना हुँदै रुकुम पश्चिमको चिसापानीसम्मको सडक पनि कालोपत्रे भइसकेको छ। खलंगादेखि रिम्नासम्म १६ किलोमिटर सडक यसअघि नै कालोपत्रे गरिएको थियो भने रिम्नादेखि चिसापानीसम्मको सडक केही महिनाअघि मात्रै कालोपत्रे सम्पन्न भएको हो। चिसापानीदेखि तल्नुबगरसम्मको करिब ३० किलोमिटर सडक अहिले कालोपत्रे गर्ने चरणमा रहेको छ।
२०७५ सालमै ट्रयाक खुलेको भए पनि भेरी करिडोरको धेरै खण्डमा अझै स्तरोन्नतिको काम हुन सकेको छैन। सडक साँघुरो हुनुका साथै पहिरो तथा ढुंगामाटो खस्ने समस्या पनि बढ्दै गएको छ।
भेरी करिडोरले यातायात सुविधा मात्र नभई आर्थिक, पर्यटन र कूटनीतिक सम्बन्ध विस्तारमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ।
सडक निर्माण सम्पन्न भएमा डोल्पाका प्रसिद्ध पर्यटकीय स्थलहरू जस्तै फाेक्सुण्डाे ताल, जगदुल्ला ताल, सुलिगाड झरना, छार्का भोट बस्ती र त्रिपुरासुन्दरी भगवती मन्दिरमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ।यसअघि उपल्लाे डाेल्पाका स्थानीय बुद्धिजीवीले सयाै वर्षदेखि अलपत्र उक्त सडकखण्ड निर्माणकाे जिम्मा नेपाली सेनालाई दिन माग गरेका थिए ।
यसैगरी डोल्पामा उत्पादन हुने यार्सागुम्बा, जटामसी, स्याउ र ओखरजस्ता बहुमूल्य वस्तुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पाउने विश्वास गरिएको छ। साथै धो क्षेत्रमा भविष्यमा हिमाली सहर विकास गर्ने सरकारी योजनालाई समेत यस सडकले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

डोल्पा न्यूज । ३ चैत्र २०८२, मंगलवार ०६:४२