ताजा समाचार

डाेल्पा ठुलिभेरिका जेष्ठ नागरिकलाई ‘हर्लिक्स सहारा’, दिवा सेवा केन्द्रबाट अस्थायी राहत

विष्णुप्रसाद देवकोटा

जेष्ठ नागरिकका दीर्घकालीन समस्या समाधानमा राज्य संयन्त्र अझै प्रभावकारी बन्न नसकेको अवस्थामा डोल्पाको दुनैमा भने प्रतीकात्मक राहतस्वरूप हर्लिक्स वितरणसहित सम्मान कार्यक्रम गरिएको छ। कर्णाली प्रदेश सरकार अन्तर्गत सामाजिक विकास कार्यालय डोल्पाको सहयोगमा जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्दै यस्तो कार्यक्रम गरिएको हो।

आर्थिक वर्ष २०८२/८३ को बजेट अनुसार सञ्चालन गरिएको कार्यक्रममा ठुलीभेरी नगरपालिका–१, २ र ३ का १०२ जना जेष्ठ नागरिकलाई चियापानसहित पोषण सामग्री वितरण गरिएको थियो। दैनिक जीवनयापन र स्वास्थ्य सेवामा चुनौती झेलिरहेका आफुजस्ता  जेष्ठ नागरिकहरूका लागि यस्ता कार्यक्रमले केही राहत दिएको सहभागीहरू मध्येका सम्मानित ब्यक्तित्व ८५ वर्षीय  चेतबहादुर राेकायाले  बताए।

जेष्ठ नागरिक संगठन डोल्पाका अध्यक्ष कर्णसिंह बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ३ का अध्यक्ष भक्त बहादुर भण्डारी प्रमुख अतिथि रहेका थिए भने सामाजिक विकास अधिकृत दुर्गा बिष्टको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा लेखा अधिकृत राजकुमार केसी लगायतको सहभागिता थियो।

कार्यक्रमकै अवसरमा ८५ वर्षीय चेत बहादुर रोकाया (ठुलीभेरी–३) र ८५ वर्षीया लाजाम बुढा (ठुलीभेरी–२) लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

जेष्ठ नागरिकहरूले भेटघाट, अनुभव आदानप्रदान र नाचगानमार्फत केही समयका लागि भए पनि खुसी साटेका थिए।

सामाजिक विकास कार्यालय डोल्पाका प्राविधिक सहायक राम बहादुर बुढाले यस्ता कार्यक्रमले जेष्ठ नागरिकमा आत्मीयता र मनोबल बढाएको बताए। उनले मापदण्डअनुसार आगामी दिनमा कार्यक्रम विस्तार गर्ने तयारी रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया