डोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी डोल्पाले जिल्लाका विभिन्न स्थानीय तहमा दूरसञ्चार सेवा विस्तार गर्न माग गरेको छ। पार्टीका तर्फबाट नेपाल टेलिकम निर्देशनालय, कर्णाली प्रदेश सुर्खेतलाई पत्राचार गर्दै फाइबर टु द होम (एफटिटिएच) इन्टरनेट तथा मोबाइल सेवा विस्तार गर्न अनुरोध गरिएको हो।
प्रतिनिधि सभा सदस्य देवेसिह ऐडिद्वारा हस्ताक्षरित पत्रमा डोल्पा जिल्लाको ठूलीभेरीनगरपालिका–११, जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा एफटिटिएच इन्टरनेट सेवा विस्तार गर्न माग गरिएको उल्लेख छ। साथै रिमी, काइगाउँ र कालिका क्षेत्रमा १८०० मेगाहर्ज ब्याण्ड थप गरी सेवा सुदृढ गर्न तथा नयाँ टावर निर्माणका लागि आवश्यक प्राविधिक सर्वेक्षण गर्न आग्रह गरिएको छ।
त्यसैगरी ठूलीभेरी नगरपालिका–१ थालामा निर्माण सम्पन्न भइसकेको टावर शीघ्र सञ्चालनमा ल्याउन तथा माथिल्लो डोल्पाका विभिन्न स्थानमा नयाँ टावर स्थापनाका लागि प्रक्रिया अघि बढाउन पनि दुरसंचार कार्यालयका डाेल्पाकम प्राविधिक नवराज भट्टराईलाई पत्र मार्फत ध्यानाकर्षण गराइएको रास्वपा उम्मेदवार ऐडिले बताए।
दूरसञ्चार सेवा प्रभावकारी नहुँदा स्थानीय नागरिकले दैनिक कार्यसम्पादन, शैक्षिक गतिविधि तथा आपतकालीन सञ्चारमा समस्या भोग्दै आएको उल्लेख गर्दै सेवा विस्तारमा शीघ्र पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको उम्मेदवार ऐडिले जानकारी दिए।
उक्त पत्रको बोधार्थ नेपाल टेलिकम दूरसञ्चार कार्यालय, डोल्पा र नेपाल टेलिकम दूरसञ्चार कार्यालय, काठमाडौं लाई समेत पठाइएको छ ।

डोल्पा न्यूज । १२ फाल्गुन २०८२, मंगलवार १४:०७