विष्णुप्रसाद देवकोटा
हिमाली जिल्ला डोल्पामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा संयन्त्रले अग्रिम तयारीलाई तीव्र बनाएको छ। जिल्लाभर रहेका मतदान केन्द्रहरूको स्थलगत अनुगमनलाई प्राथमिकतामा राख्दै प्रशासनले हालसम्म ७० मध्ये ४५ केन्द्रको निरीक्षण सम्पन्न गरेको जनाएको छ।
जिल्लामा ६८ स्थायी र २ अस्थायी गरी कुल ७० मतदान केन्द्र रहेका छन्। प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, विभिन्न सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित सरोकारवालाको सहभागितामा अनुगमन भइरहेको हो।
विशेषगरी उच्च संवेदनशील सूचकका आधारमा चिन्हित केन्द्रहरूमा प्राथमिकता दिएर स्थलगत निरीक्षण गरिएको बताइएको छ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत रमेश पौडेलका अनुसार बाँकी २३ मतदान केन्द्रमा पनि परिस्थितिअनुसार प्रत्यक्ष वा समन्वयात्मक अनुगमन गरिनेछ। दुर्गम भूगोल, समय अभाव तथा मौसमको अवस्थालाई मध्यनजर गर्दै केही स्थानमा स्थानीय निकाय र सुरक्षा संयन्त्रमार्फत प्रतिवेदन संकलन गरिने तयारी छ।
सदरमुकाममा रहेका २ अस्थायी मतदान केन्द्र भने जोखिमको दृष्टिले सामान्य रहेको प्रशासनको आकलन छ। अनुगमनपछि आवश्यक सुरक्षा प्रबन्ध मिलाउने कार्यसमेत सँगसँगै अघि बढाइएको सहायक प्रजिअ पौडेलले जानकारी दिए।
यसैबीच मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय बासिन्दा, राजनीतिक दल तथा सरोकारवाला सबै पक्षसँग सहयोगको अपिल गरेको छ।
निर्वाचन नजिकिँदै जाँदा प्रशासनको सक्रियता बढ्नुले डोल्पामा यसपटक सुरक्षा सतर्कता उच्च तहमा राखिएको संकेत गरेको छ।

डोल्पा न्यूज । १२ फाल्गुन २०८२, मंगलवार १८:१६