ताजा समाचार

छत्र शाहीको देउडामा झुम्यो डोल्पा, महोत्सव बन्यो कर्णालीको सांगीतिक उत्सव

विष्णुप्रसाद देवकोटा
डोल्पा ।साउनको झिमझिम पानी । महोत्सवको रंगीन मञ्च। अगाडि खचाखच दर्शक। मञ्चमा जब इन्द्रेणीका चर्चित कलाकार तथा लोकदोहोरी गायक छत्र शाही उक्लिए, डोल्पाको वातावरण एकाएक देउडामय बन्यो।
कर्णालीको मौलिक भाकामा शाहीले सुरुवात गरेसँगै दर्शकदीर्घाबाट ताली र हुटिङ गुञ्जिन थाल्यो। केहीबेरमै सयौँ दर्शक गीतको तालमा छमछमी नाच्न थाले। मञ्च अगाडिको दृश्य हेर्दा डोल्पामा राष्ट्रिय देउडा प्रतियोगिता नै चलिरहेको आभास हुन्थ्यो।
डोल्पामा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३ मा सहभागी हुन आएका शाहीले आफ्ना लोकप्रिय गीत तथा लाइभ दोहोरीमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिए। इन्द्रेणी कार्यक्रममार्फत टेलिभिजनको पर्दामा देख्दै आएका कलाकारलाई प्रत्यक्ष हेर्न र उनका कर्णप्रिय गीत सुन्न ग्रामीण बस्तीबाट समेत ठूलो संख्यामा दर्शक महोत्सवस्थल पुगेका थिए।
शाहीले ‘झल्का लाइजा’, ‘मेरो धुपी रूख’, ‘रारा जाने मूलबाटो’, ‘घर मेरो कर्णाली’, ‘हे माया हेर त ऐनामामा’, ‘नाच मोरी हो’ लगायतका चर्चित गीत प्रस्तुत गर्दा दर्शकले साथमा स्वर मिलाए। लाइभ दोहोरीमा समेत दर्शकको उत्साह उत्तिकै देखिन्थ्यो।
जुम्लाको हिमा गाउँपालिका–६ पाथरखोलामा जन्मिएका शाही सानैदेखि देउडा तथा लोकगीतप्रति आकर्षित थिए। कलाकार बन्ने सपना बोकेर करिब २०७० सालतिर काठमाडौं पुगेका उनले लामो समय दोहोरी साँझमा गीत गाउँदै संघर्ष गरे। करिब पाँच वर्षको संघर्षपछि त्यही कमाइबाट आफ्ना प्रारम्भिक देउडा गीत रेकर्ड गर्न थाले।
कालीकोट महोत्सवमा दिएको प्रस्तुतिपछि उनको प्रतिभालाई इन्द्रेणी परिवारले पहिचान गरेको थियो। त्यसपछि इन्द्रेणीमा नियमित लाइभ दोहोरी प्रस्तुत गर्न थालेका शाही छोटो समयमै कर्णालीको लोकसंगीतका चर्चित नाम बन्न पुगे।
देउडा, लोकदोहोरी र कर्णालीको मौलिक भाकामा विशेष पकड बनाएका शाहीले कर्णालीको संस्कृति, जनजीवन, प्रेम, पीडा र गाउँघरका कथालाई गीतमार्फत प्रस्तुत गर्दै आएका छन्।

यही मौलिकता उनका गीतको लोकप्रियताको प्रमुख आधार बनेको छ।साउन ८ गतेदेखि सुरु भएको महोत्सवको १७औँ दिनसम्म आइपुग्दा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिले डोल्पाको सांस्कृतिक रंगमञ्च थप रंगीन बनेको छ।
चर्चित गायिका ज्याेती थापा मगर,प्रिति आले,लगायत एक दर्जन बढि राष्ट्रिय कलाकारले आफ्नाे प्रस्तुति दिएर फिर्ता भइसकेका छन ।

तर छत्र शाहीको प्रस्तुतिले भने महोत्सवस्थलमा छुट्टै रौनक थपिदियो।उनको गीतमा डोल्पा नाच्यो, उनको भाकामा कर्णाली बोल्यो।यसैबीच चर्चित डान्सर पारु कठायत माेती बुढा लगायत स्थानीय कलाकारले पनि आफ्नाे प्रस्तुति दिइरहेका छन ।

तपाईको प्रतिक्रिया