विष्णुप्रसाद देवकोटा
डोल्पा । छार्का ताङसोङ गाउँपालिकाले भेडा तथा च्याङ्ग्रामा फैलिने महामारीजन्य पीपीआर रोग नियन्त्रण अभियान तीव्र बनाएको छ।
गाउँपालिकाको कृषि तथा पशु सेवा उपशाखाका अनुसार पहिलो चरणमा वडा नम्बर १, २ र ३ मा करिब १० हजार भ्यागलुङ भेडा तथा च्याङ्ग्रालाई पीपीआर विरुद्धको खोप लगाइएको छ।
अभियान अन्तर्गत करिब १ सय ६० घरधुरीलाई खोप कार्ड समेत वितरण गरिएको उपशाखाले जनाएको छ।
यस्तै दोस्रो चरणमा वडा नम्बर ४, ५ र ६ मा पनि केही दिनभित्र थप करिब १० हजार पशुमा खोप लगाइने तयारी गरिएको छ।
पशुमा महामारी रोग फैलिन नदिन वार्षिक रूपमा अनिवार्य खोप अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
खोप अभियान सम्बन्धी थप जानकारीका लागि वडा नम्बर १ का पशु सेवा केन्द्र प्रमुख भुज बहादुर बुढा, वडा नम्बर २ र ३ का पशु सेवा केन्द्र प्रमुख गोविन्द बुढा तर कृषि तथा पशु सेवा उपशाखाका संयोजक विष्णु बहादुर केसीसँग सम्पर्क गर्न सकिने समेत पालिकाले जनाएकाे छ।

डोल्पा न्यूज । २२ बैशाख २०८३, मंगलवार १५:०७