ताजा समाचार

बटुक भैरवका पुजारी भूमिनन्द गिरीको निधन

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोटस्थित बटुक भैरव मन्दिरका पुजारी भूमिनन्द गिरीको ५८ वर्षको उमेरमा निधन भएको छ।
गिरीको २०८३ भदौ २७ गते राति करिब ८ः५० बजे कालगतिले निधन भएको हो। उनी लामो समयदेखि पेटसम्बन्धी दीर्घरोगबाट पीडित थिए।
अविवाहित गिरीका नजिकका आफन्त कोही थिएनन्। उनकी एक जना दिदी मात्र थिइन्। उनी पनि अशक्त अवस्थामा रहेकी छन्।
लामो समयदेखि बटुक भैरव मन्दिरमा पुजारीका रूपमा सेवा गर्दै आएका गिरीको निधनले त्रिपुराकोट गाउँ शोकमा डुबेको छ। मन्दिरको पूजा–आराधना र स्थानीय धार्मिक परम्परासँग गहिरो रूपमा जोडिएका गिरीको निधनले गाउँलेलाई भावुक बनाएको छ।
उनको पार्थिव शरीरलाई स्थानीय परम्परा र धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ। पूजाआजा तथा संस्कार पूरा गरी दाहसंस्कार गरिएको र त्यसपछि अस्तु सुन्दरी र भैरबी गंगाकाे संगमस्थित आर्यघाटमा गंगाजलमा विसर्जन गरिएको स्थानीय देविकृष्ण उपाध्यायले बताए ।
गिरीको निधनसँगै त्रिपुराकोटको धार्मिक जीवनमा लामो समयदेखि निरन्तर पूजा–आराधना गर्दै आएका एक समर्पित पुजारीको अभाव महसुस भएको छ।

तपाईको प्रतिक्रिया