विष्णुप्रसाद देवकोटा
प्रतिनिधि सभा सदस्यका लागि फागुन २१ गते हुन गइरहेको निर्वाचनअघि डोल्पाको चुनावी माहोल असाधारण रूपमा तातेको छ।
यसैबीच नेकपा उम्मेदवार तथा निवर्तमान सांसद धनबहादुर बुढाले आफू “विजयी भइसकेको” दाबी गर्दै परिणाम घोषणा हुन मात्र बाँकी रहेको बताएका छन्।
मुड्केचुला गाउँपालिकाका विभिन्न वडामा घरदैलो अभियानका क्रममा बुढाले २०७० र २०७९ को निर्वाचनमा माथिल्लो डोल्पाका शे–फोक्सुण्डो, डोल्पोबुद्ध, छार्काताङसोङ र काइके गाउँपालिकाबाट ९३–९४ प्रतिशत मत प्राप्त गरेको स्मरण गराउँदै यसपटक पनि मत सुरक्षित रहेको दाबी गरे।
“म औपचारिकता निभाउन र प्रक्रिया मिलाउन प्रचारमा आएको हुँ, जित त भइसकेको छ, घोषणा हुन मात्र बाँकी हो,” उनले भने।
तीन पटक संघीय संसदमा निर्वाचित भइसकेका बुढा चौथो कार्यकालको खोजीमा छन्।
विगतमा एमाले, एकीकृत समाजवादी र गठबन्धनको साथमा सहज जित निकाल्दै आएका उनले समयअनुसार राजनीतिक कित्ता परिवर्तन गर्दै चुनावी सफलता हासिल गरेका थिए। तर, यसपटकको राजनीतिक समीकरण विगतभन्दा फरक देखिएको छ।
नेपाली कांग्रेसबाट उनका सहोदर दाइ कर्ण बुढा चुनावी मैदानमा छन् भने नेकपा एमालेबाट जेन–जि पुस्ताका उम्मेदवार लंक रोकाया प्रतिस्पर्धामा छन्।
त्यसैगरी, तत्कालीन माओवादीको बलियो आधार मानिएको जगदुल्ला गाउँपालिकाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का जेन–जि पुस्ताका युवा इन्जिनियर देवसि ऐडी पनि चुनावी मैदानमा उत्रिएका छन्।
जगदुल्ला र मुड्केचुला जस्ता विगतका माओवादी प्रभाव क्षेत्रमै नयाँ पुस्ताका उम्मेदवारहरूको उपस्थिति देखिनुले परम्परागत मत विभाजनमा असर पर्ने आँकलन गरिएको छ। विशेषगरी युवा मतदाता लक्षित अभियान र वैकल्पिक राजनीतिक धारको उदयले यसपटकको प्रतिस्पर्धा त्रिकोणीय मात्र नभई बहुकोणीय बन्दै गएको छ।
विगतमा कमजोर प्रतिस्पर्धी र शक्तिशाली गठबन्धनको साथले सहज जित निकालेका बुढाका लागि यसपटक परिस्थिति त्यति सहज देखिँदैन। कांग्रेस, एमाले र रास्वापाका उम्मेदवारहरू आ–आफ्नो आधार क्षेत्रमा सशक्त ढंगले अभियानमा सक्रिय छन्।
यद्यपि, आत्मविश्वासपूर्ण दाबी गरिए पनि मतपरिणाम अन्ततः मतपेटिकाले नै तय गर्नेछ। डोल्पाको राजनीतिक धरातलमा यसपटकको निर्वाचन विगतभन्दा बढी प्रतिस्पर्धात्मक, पुस्तान्तरणको संकेत बोकेको र अप्रत्याशित नतिजा ल्याउन सक्ने विश्लेषण गरिएको छ।

डोल्पा न्यूज । २९ माघ २०८२, बिहीबार ०६:४३