विष्णुप्रसाद देवकोटा
अन्तर पुस्ता महिलावादी मञ्चको आयोजनामा देशव्यापी महिलावादी “अनुपम” अभियान अन्तर्गत डोल्पामा कार्यक्रम सम्पन्न भएको छ। “संयम, सक्रिय, संगठित” नारासहित आयोजित कार्यक्रम अन्तरपार्टी महिला सञ्जाल डोल्पाकी अध्यक्ष मायादेवी सिंहको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमकी प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य उर्मिला विश्वकर्माले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन गर्न अझै चुनौती रहेको बताइन्। उनले संविधानमा उल्लेखित ३३ प्रतिशत महिला सहभागितालाई बढाएर ५१ प्रतिशत अर्थात समान सहभागिता सुनिश्चित गर्न राजनीतिक दलभित्रै संघर्ष गर्नुपर्ने अवस्था रहेको उल्लेख गरिन्। साथै, संविधानले दिएको अधिकार महिलाले पूर्णरुपमा उपयोग गर्न नसकेको उनको भनाइ थियो।
विशेष अतिथि अभियान्ता टुका छिकी शेर्पाले राजनीतिक दलहरूले संविधानमा व्यवस्था गरिएको समावेशी समान सहभागितालाई समेत व्यवहारमा लागू नगरेको आरोप लगाइन्। उनले ७७ जिल्लामा सञ्चालन भइरहेको अभियान अन्तर्गत डोल्पा अन्तिम जिल्ला भएको जानकारी दिँदै अभियानका विभिन्न चरणबारे प्रकाश पारिन्। उनका अनुसार पहिलो चरणमा रणनीति निर्माण, दोस्रो चरणमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यात्रा, तेस्रो चरणमा हस्ताक्षर संकलन गरी सम्बन्धित निकायमा बुझाउने कार्य सम्पन्न भइसकेको छ भने चौथो चरण अन्तर्गत चैत १० देखि १२ गतेसम्म महिला समान सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित महोत्सव सञ्चालन भइरहेको छ। अभियानको लक्ष्य ‘मिशन ८४’ मार्फत राजनीतिक क्षेत्रमा महिलाको समावेशी र समान सहभागिता सुनिश्चित गर्नु रहेको उनले बताइन्।
अतिथि तथा नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले पितृसत्तात्मक प्रणालीका कारण व्यवहारमा अझै पुरुषकै वर्चस्व कायम रहेको बताए।
उनले संविधानमा एक महिला एक पुरुषको उम्मेदवारी व्यवस्था भए पनि व्यवहारमा त्यसको कार्यान्वयन कमजोर रहेको उल्लेख गर्दै जिल्ला समन्वय समितिमा समेत पुरुषकै वर्चस्व देखिएको उदाहरण प्रस्तुत गरे।
कानुनी व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने र संवैधानिक आयोगहरूमा पनि महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने उनको जोड थियो।
कार्यक्रममा सहभागीहरूले महिलाको आत्मसम्मान, अधिकार र राजनीतिक सहभागिता सुदृढ गर्न अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए।

डोल्पा न्यूज । ४ चैत्र २०८२, बुधबार ११:५४