विष्णुप्रसाद देवकोटा
डोल्पामा सडक निर्माणका क्रममा एक्जाभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। ठूलीभेरी नगरपालिका–२ लोचा गाउँनजिक बुधबार बिहान एक्जाभेटर सडकबाट करिब ५०–६० मिटर तल खसेर दुर्घटना हुँदा ठूलीभेरी नगरपालिका–६ काँडातालीका ३१ वर्षीय मन्दिर रोकायाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार दुनैबाट लोचागाउँतर्फ नयाँ सडकको ट्र्याक खोल्ने क्रममा ना.बा.प्र. ०१–००१ ग ४२१० नम्बरको एक्जाभेटर बिहान करिब १०ः३० बजे दुर्घटनामा परेको थियो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक सञ्जीव गुप्ताको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयको सहयोगमा गम्भीर घाइते रोकायालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल दुनै पुर्याइएको थियो।
अस्पतालमा बिहान करिब ११ः२० बजे पुर्याइएका रोकायाको नाकबाट रगत बग्नुका साथै बायाँ खुट्टा र पेटमा गम्भीर चोट लागेको थियो। उपचारकै क्रममा दिउँसो १ः२० बजे उनको मृत्यु भएको जिल्ला अस्पताल दुनैले जनाएको छ।
चालकको अवस्था गम्भीर भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लैजाने तयारीसमेत गरिएको थियो। ठूलीभेरी नगरपालिकाका नगरप्रमुख श्वर्णकुमार बुढाले करिब ९ लाख रुपैयाँ खर्च हुने भए पनि हेलिकप्टर चार्टर गरेर उपचारका लागि लैजाने व्यवस्था मिलाएको ठूलीभेरी नगरपालिका–८ का वडाध्यक्ष मनराम ठकुल्लाले बताए।
वडाध्यक्ष ठकुल्लाका अनुसार प्रमुख जिल्ला अधिकारी र नगरप्रमुखले घाइतेको उपचारका लागि सक्दो पहल गरेका थिए। तर काठमाडौंबाट पोखरातर्फ उडेको फिस्टेल एयरको हेलिकप्टर पोखरा पुग्नुअघि नै रोकायाको मृत्यु भएको अस्पतालले जानकारी दिएपछि हेलिकप्टर काठमाडौं नै फर्काइएको थियो।
हेलिकप्टर उडानका लागि लागेको खर्च नगरपालिकाले व्यहोर्ने नगरप्रमुख बुढाले प्रतिबद्धता जनाएको पनि वडाध्यक्ष ठकुल्लाले जानकारी दिए।
घटनास्थल जिल्ला प्रहरी कार्यालय डोल्पाबाट करिब सात किलोमिटर पूर्वमा पर्छ। प्रहरीले दुर्घटनामा परेको एक्जाभेटर ठूलीभेरी नगरपालिकाको रहेको जनाएको छ।
एक्जाभेटर सञ्चालन गर्ने निर्माण व्यवसायी को हुन्, सडक निर्माणका क्रममा दुर्घटना कसरी भयो र दुर्घटनाको कारण के हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रनाउ गिरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताउँदै गम्भीर घाइते रोकायालाई बचाउन नसकेकोमा दुःख व्यक्त गरेका छन्।
डोल्पामा एक्जाभेटर दुर्घटना,चालकको उद्धारपछि अस्पतालमै ज्यान गयो
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २७ श्रावण २०८३, बुधबार १७:३९