ताजा समाचार

कर्णालीमा साउने संक्रान्ति पर्व २०८३ सम्पन्न

विष्णुप्रसाद देवकोटा
कर्णाली प्रदेशभर साउने संक्रान्ति पर्व २०८३, परम्परागत उत्साहका साथ मनाइएको छ। विशेषगरी डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, रुकुम पश्चिम र सल्यान लगायतका जिल्लामा धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी पर्व मनाइएको हो। कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदासमेत दिएको थियाे ।
साउने संक्रान्तिसँगै हिन्दूहरूको पवित्र श्रावण महिना सुरु हुने भएकाले डाेल्पाकाे त्रिपुरासुन्दरी भगवती मन्दिर लगायतका शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। श्रद्धालुहरूले पूजा–आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा दीर्घायुको कामना गरे।

कर्णालीको मौलिक परम्पराअनुसार घर–आँगन र खेतबारी वरिपरि राँको बाल्ने तथा लुतो फाल्ने चलन छ। यसले रोगव्याधि, दुःख–कष्ट र नकारात्मक शक्तिलाई घरबाट टाढा भगाउने धार्मिक तथा सांस्कृतिक विश्वास रहिआएको छ। साँझपख गाउँघरमा सामूहिक रूपमा देउडा गीत गाउने, नाच्ने र आपसी सद्भाव साटासाट गर्ने परम्पराले पर्वलाई थप उल्लासमय बनाएकाे थियाे ।

कर्णालीका ग्रामीण क्षेत्रमा साउने संक्रान्तिलाई कृषि जीवनसँग पनि जोडेर हेरिन्छ। वर्षायाममा रोपाइँको मुख्य काम सकिएपछि परिवार र समुदाय एकै ठाउँमा भेला भई परम्परागत परिकार खाने, आफन्तसँग भेटघाट गर्ने र सांस्कृतिक पहिचान जोगाउने अवसरका रूपमा यो पर्व लाई लिइन्छ ।
साउने संक्रान्ति कर्णालीको मौलिक सभ्यता, संस्कृति, धार्मिक आस्था र सामुदायिक एकताको प्रतीकका रूपमा पुस्तौंदेखि निरन्तर मनाइँदै आएको महत्वपूर्ण पर्व हो।तस्बिर :बालकृष्ण डांगी

तपाईको प्रतिक्रिया