विष्णुप्रसाद देवकोटा
जिल्ला प्रहरी कार्यालय डोल्पाले २०८२ सालको फागुन महिनाकाे प्रगति विवरण सार्वजनिक गरेकाे छ ।विभिन्न शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहसम्बन्धी संचालित गतिविधिहरू प्रगति विवरणकाे रुपमा सार्वजनिक गरेकाे हाे ।प्रहरी कार्यालयले सार्वजनिक गरेको कार्यप्रगति विवरण अनुसार फागुन महिनामा कुल २ वटा मुद्दा दर्ता भएका छन्, जसमा १ गम्भीर र १ सामान्य प्रकृतिका मुद्दा रहेका छन्।
प्रहरीका अनुसार चालु मुद्दामा १ जना प्रतिवादी रहेका छन्। हराएका तथा फेला परेका व्यक्तिसम्बन्धी विवरणमा १ वटा हराएको निवेदन परेको र १ जना व्यक्ति फेला परेको उल्लेख गरिएको छ।
उजुरी व्यवस्थापनतर्फ प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा १० वटा उजुरी परेको र १२ वटा फछ्र्योट गरिएको छ। यसमध्ये अघिल्लो महिनाबाट बाँकी रहेको उजुरी समेत समेटिएको सुचना अधिकारी प्रहरी निरीक्षक पदम रावलले बताए । जिल्ला प्रशासन कार्यालयमार्फत आएका ४ वटा उजुरीमध्ये सबैको फछ्र्योट गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी २ वटा उजुरी परेकोमा दुवैको मिलापत्रमार्फत समाधान गरिएको प्रहरी निरीक्षक रावलकाे भनाई छ ।
अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। यस अवधिमा ६ पटक एलआरपी, १ हजार २ सय ५६ पटक एसआरपी, ६५० पटक पिकेट तथा ३४७ पटक चेकजाँच र ३६४ पटक ग्रामीण गस्ती सञ्चालन गरिएको प्रहरी कार्यालयले जनाएको छ।
सवारी दुर्घटनातर्फ फागुन महिनामा १ वटा दुर्घटना भएको छ। उक्त दुर्घटनामा १ सवारी साधन संलग्न रहेको र २ जना घाइते भएका छन्। चेकजाँचका क्रममा २० वटा कारबाही गरिएको र त्यसबाट ११ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
समुदाय तथा विद्यालय केन्द्रित २० वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्, जसमा ५ सय ६४ जना सहभागी भएका थिए। विद्यालयस्तरमा आयोजित कार्यक्रमहरूमा पनि ५ सय ६४ जना विद्यार्थी सहभागी भएका छन्।
यस अवधिमा प्रहरी कार्यालयको हटलाइन तथा डिएसपीको सम्पर्क नम्बरमा १ सय २५ वटा फोन कल प्राप्त भएका छन् भने नागरिक सहायता कक्षमार्फत १ हजार २ सय ५० जनालाई सेवा प्रदान गरिएको छ।
प्रहरी कर्मचारीहरूको मनोबल वृद्धि गर्न विभिन्न क्रियाकलापहरू सञ्चालन गरिएको प्रहरी कार्यालयले जनाएको छ। कार्यालय प्रमुख डिएसपी रुकबहादुर खड्काको नेतृत्वमा कर्मचारी समस्याबारे बैठक, प्रकृति अवलोकन (नेचर वाक), खेलकुद गतिविधि तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो। उत्कृष्ट कार्य गर्ने ३० जना प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गरिएको तथा २ जनालाई प्रशंसापत्रसहित सम्मान गरिएको छ।
यसैबीच नवप्रवर्तनात्मक तथा रचनात्मक कार्यअन्तर्गत जस्ता पाताले छाएको दुई कोठे ब्यारेक निर्माण गरिएको, पुरुष हिरासत कक्षको पुनःनिर्माण तथा विस्तार गरिएको र प्रहरी परिसरभित्र कर्मचारीहरूको सुविधाका लागि चमेना गृह निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

डोल्पा न्यूज । २ चैत्र २०८२, सोमबार १७:५७