ताजा समाचार

पुसेको डाेल्पाकाे साधारण सभा सम्पन्न  : ६० लाखको बजेट पारित

विष्णुप्रसाद देवकोटा
डोल्पा । गरिब तथा दलित उत्थान सेवा समिति (पुसेको) डोल्पाको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सहित ठूलीभेरी नगरपालिका–६ दुरागाउँमा सम्पन्न भएको हाे।
महिला सहकारी संस्था लिमिटेडको सभाहलमा असोज ५ गते आयोजित सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। यसैगरी कार्यकारी समितिले गरेका निर्णय अनुमोदन, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने निर्णयसमेत गरिएको छ।
सभाले चालु आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रमसँगै ६० लाख ५ हजार ५ सय रुपैयाँको अनुमानित बजेट स्वीकृत गरेको छ।
संस्थाका अध्यक्ष धनकुमारी वि.क.को अध्यक्षतामा तथा ज्येष्ठ नागरिक खम्बबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा वडा नं. ६ का समाजसेवी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सामाजिक अगुवा, संस्थाका पदाधिकारी, सदस्य तथा साधारण सदस्यको सहभागिता थियो।
सभा शुरु हुनु अघि भदौ १० गते रसुवाको केन्द्र खोलामा आएको बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।
आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन तथा कार्यान्वयन गरेका नीति, कार्यक्रम र बजेटबारे सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइसमेत गरिएको थियो। उक्त आर्थिक वर्षमा संस्थाले चारवटा अल्पकालीन परियोजना सञ्चालन गरी ९ लाख ४७ हजार ३ सय ७४ रुपैयाँ बजेट परिचालन गरेको संस्थाले जनाएको छ।
संस्थाका अनुसार ३ दिने युवा साझेदारी तालिम, बालविवाहविरुद्ध साझा अभियान सञ्जालमार्फत बालविवाह रोकथाम परियोजना, त्रिपुरासुन्दरी नगरपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण र डोल्पो बुद्ध गाउँपालिकामा कक्षा १ देखि ३ सम्मका लागि नेपाली तथा भोट भाषामा स्थानीय पाठ्यक्रम निर्माण परियोजना सञ्चालन गरिएको थियो।
सभाको दोस्रो सत्रमा बालअधिकार, बालविवाह रोकथाम तथा महिला र लैङ्गिक हिंसा न्यूनीकरणका विषयमा संवाद, छलफल र कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।
संस्थाका कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्ष रणबहादुर कार्कीले सभा सञ्चालन, सहजीकरण तथा प्राविधिक सत्रको भूमिका निर्वाह गरेका थिए।
सभामा ३६ जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये २२ जना महिला, १६ जना पुरुष, १७ जना दलित र एक जना जनजाति समुदायकाे प्रतिनिधित्व रहेकाे थियो ।
समापनमा सभाध्यक्ष तथा संस्थाका अध्यक्ष धनकुमारी वि.क.ले सहभागिताका लागि आभार व्यक्त गर्दै आगामी दिनमा संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउन सहभागीका अमूल्य सुझाव र सल्लाह प्राप्त हुने विश्वास व्यक्त गरिन्।

तपाईको प्रतिक्रिया