विष्णुप्रसाद देवकोटा
सुर्खेत । कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माणाधीन जगदुल्ला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा रमेश सुवेदीलाई मनोनयन गर्ने निर्णय गरेको छ।
प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, सुर्खेतमा कार्यरत योजना महाशाखा प्रमुख वरिष्ठ सिनियर डिभिजनल इन्जिनियर सुवेदीलाई कम्पनीको सञ्चालक समिति सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो।
डोल्पामा निर्माणाधीन जगदुल्ला जलविद्युत् आयोजना कर्णाली प्रदेशको ऊर्जा विकाससँग जोडिएको महत्वपूर्ण परियोजनाका रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारको पछिल्लो निर्णयसँगै आयोजनाको सञ्चालक समितिमा प्राविधिक पृष्ठभूमिका अधिकारीको सहभागिता थपिएको छ।
बैठकले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको सचिवालयको संगठन संरचना तथा दरबन्दी तेरिजसमेत स्वीकृत गरेको छ।
त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा रिक्त रहेको प्रदेश सचिव पदमा प्रदेश सचिव डा. चन्द्रप्रसाद रिसाललाई कामकाजका लागि खटाउने निर्णय गरिएको छ।
मन्त्रिपरिषद्ले कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८० को दफा १५ को उपदफा (१) बमोजिम एघारौँ तह वा सोसरहको पदमा पदस्थापन गर्ने प्रदेश सरकारमा रहेको अधिकार ऐनकै दफा १३७ को उपदफा (१) बमोजिम मुख्यमन्त्री मंगलबहादुर शाहीलाई प्रत्यायोजन गर्ने निर्णयसमेत गरेको छ।
मन्त्रिपरिषद्का यी निर्णयसम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशन गरिने प्रदेश सरकारले जनाएको छ।
डाेल्पा जगदुल्ला हाइड्रोपावरको सञ्चालकमा वरिष्ठ इन्जिनियर सुवेदी
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ८ आश्विन २०८३, बिहीबार १०:४६