ताजा समाचार

नेपाल बैंकद्वारा सरस्वती मावि दुनैलाई कम्प्युटर र प्रिन्टर सहयोग


विष्णुप्रसाद देवकोटा
डोल्पा । नेपाल बैंक लिमिटेड दुनै शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सदरमुकाम दुनैस्थित सरस्वती माध्यमिक विद्यालयलाई दुई थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरेको छ।
विद्यालयको ४९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर बैंकले विद्यालयलाई आवश्यक प्रविधि सामग्री हस्तान्तरण गरेको हो।
कार्यक्रममा नेपाल बैंक लिमिटेड कर्णाली प्रदेश प्रमुख टेकबहादुर खड्का र दुनै शाखा प्रमुख रवि भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ रोकाया तथा प्रधानाध्यापक सत्यनारायण सिंहलाई संयुक्त रूपमा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका हुन्।
विद्यालयमा प्रविधिमैत्री शिक्षा प्रवर्द्धन गर्नुका साथै प्रशासनिक कार्यलाई थप सहज बनाउन सहयोग पुग्ने उद्देश्यले सामग्री प्रदान गरिएको कर्णाली प्रदेश प्रमुख खड्काले बताए।
उनले शिक्षा र समुदायको विकासमा बैंकको सामाजिक उत्तरदायित्वलाई जोड दिँदै आगामी दिनमा पनि यस्ता सहयोग तथा सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
विद्यालयमा अत्यावश्यक रहेको कम्प्युटर तथा प्रिन्टर सहयोग गरेकोमा सरस्वती माध्यमिक विद्यालयले नेपाल बैंक लिमिटेड परिवारप्रति आभार व्यक्त गरेको छ।
हस्तान्तरण कार्यक्रममा नेपाल बैंक लिमिटेड दुनै शाखा प्रमुख रवि भण्डारीसहित विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय बासिन्दाको उपस्थिति थियो।सउमाबि दुनैले आफ्नाे बार्षिकाेत्सव विविध कार्यक्रम गरेर सम्पन्न गरेकाे छ ।

तपाईको प्रतिक्रिया