विष्णुप्रसाद देवकोटा
डाेल्पा । कातिक २९ गते । फोक्सुण्डो–रारा जोड्ने बहुवर्षीय त्रिपुराकोट–मौरेलेक सडकको कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री शेरबहादुर बुढाले एक कार्यक्रमका बीच शिलान्यास गरेका छन्।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बुढाले विकास योजनालाई गुणस्तरीय र छिटो सम्पन्न गर्न स्थानीय तहका जनप्रतिनिधि, निर्माण व्यवसायी तथा स्थानीयवासीबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरे।उनले सडक निर्माण पूरा भएपछि डोल्पाको फोक्सुण्डो हुँदै जुम्ला र त्यहाँबाट मुगुको रारा तालसम्म पुग्ने पर्यटकलाई सहजता बढ्ने र जिल्लाको पर्यटन विकासले नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले आफ्नो जिल्लाकै मन्त्री भएकाले बजेट सुनिश्चितता र योजना कार्यान्वयनमा विशेष गति आएको बताए।
उनले निर्माण व्यवसायीहरूलाई इमानदारितापूर्वक काम गर्न सुझाव दिँदै “कर्तव्यनिष्ठाहरू नै पुरस्कृत हुन्छन्” भन्ने विश्वास राख्न आग्रह गरे।त्रिपुरासुन्दरी नगरका मेयर जनचन्द्र राेकायाले त्रिपुराकाेट माैरेलेक सडक बहुउपयाेगी र पर्यटन प्रबर्द्धनमा काेशे ढुङ्गा साबित हुने बताउदै मन्त्री निर्वाचन क्षेत्र प्रदेश कबाट भएपनि प्रदेश खमा पर्ने त्रिपुरासुन्दरी नगरपालिकाकाे समग्र क्षेत्रकाे विकासका लागि पुर्वाधार मन्त्री लागिपर्नु भएकाे बताए ।
पुर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख इन्जिनियर टेकबहादुर हितानका अनुसार कर्णाली प्रदेश सरकारको १५ करोड ८५ लाख ६ हजार रुपैयाँ लागतमा बन्न लागेको यो सडक २०८४ साल असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०८२ असार ११ गते विएन्टी कुम्बु जेभीसँग सम्झौता गरिएको हो।
उनका अनुसार त्रिपुराकोट–मौरेलेक ६८ किलोमिटर सडकको स्तरोन्नति, कल्भर्ट निर्माण, रिटेनिङ–वाल, मेसिनरी–वाल तथा सडकका दुवैपट्टि नाला निर्माण गरिनेछ। सडक सम्पन्न भएपछि डोल्पाको फोक्सुण्डो सडक–केन्द्र त्रिपुराकोटमार्ग हुँदै जगदुल्ला, जुम्ला र अन्ततः रारा तालसम्म आवागमन सहज हुने तथा तीन जिल्लाका बासिन्दा र पर्यटक दुवैलाई प्रत्यक्ष लाभ पुग्ने इन्जिनियर हितानले बताए ।
जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकायाकाे अध्यक्षतामा सम्पन्न सडक शिलान्यास कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख तेजेन्द्र बुढा त्रिपुरासुन्दरी नगरपालिका मेयर जनचन्द्र राेकाया र उपमेयर देवी घर्तिमगर लगायत विभिन्न वडाका वडाअध्यक्षहरु नागरिक समाज र स्थानीय बासिन्दाकाे उपस्थिति रहेकाे थियाे ।
मन्दिरका पुजारी यज्ञप्रसाद उपाध्यायबाट विशेष पुजाआजाका साथ प्रदेश मन्त्री बुढा समन्वय प्रमुख राेकाया र नगरप्रमुख राेकायाले त्रिपुरासुन्दरी-७ छलस्थित ताम्राबर्णीनदिकाे थाप्लाेमा सडक शिलान्यास गरेका हुन ।

डोल्पा न्यूज । २९ कार्तिक २०८२, शनिबार १५:४८