डाेल्पामा सिलाजित संकलन गर्ने क्रममा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ। सोमबार दिउँसो त्रिपुरासुन्दरी नगरपालिका–४ रंगका अन्दाजी ३५ वर्षीय जशलाल धरालाको भिरबाट खसेर ज्यान गएको हो।
काईके गाउँपालिका अन्तर्गत पर्ने पाल्चाखोला नजिकैको भिरमा औषधीय प्रयोजनका लागि प्रयोग गरिने कच्चा पदार्थ सिलाजित निकाल्ने क्रममा धराला भिरबाट खसेर गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
सिलाजित संकलनका लागि धराला गाउँका अन्य दाजुभाइसँगै उक्त स्थानमा पुगेका थिए। घटनापछि शव जिल्ला अस्पताल दुनै ल्याइएको छ। मृतक धरालाको शव पोस्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको जिल्ला अस्पताल दुनैले जानकारी दिएको छ।
डाेल्पामा सिलाजित संकलनका क्रममा भिरबाट खसेर धरालाकाे मृत्यु
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ६ माघ २०८२, मंगलवार १०:४४