ताजा समाचार
प्रहरी सईसँगको विवादपछि तत्काल अनुसन्धान टोली डोल्पा खटियो

डोल्पामा हाजिर भएको नौ दिनमै डीएसपी केसी कुटपिट प्रकरणमा हेडक्वार्टर तानिए

प्रहरी सईसँगको विवादपछि तत्काल अनुसन्धान टोली डोल्पा खटियो

डोल्पा — डोल्पा जिल्ला प्रहरी कार्यालयमा हालै मात्र कार्यभार सम्हालेका डिएसपी हेमबहादुर केसीलाई कार्यभार सम्हालेको नौ दिनमै प्रहरी प्रधान कार्यालय, नक्साल तानिएको छ।

१५ वैशाखमा डोल्पा पुगेर हाजिर भएका केसीमाथि कार्यालयकै प्रहरी नायब निरीक्षक (सई) शैलेन्द्रकुमार रसाइलीमाथि हातपात गरेको आरोप लागेको हो। प्रहरी स्रोतका अनुसार, एक सामान्य विवादका क्रममा डिएसपी केसीले सई रसाइलीलाई बोलाएर अश्लील शब्द प्रयोग गर्दै गालीगलौज र कुटपिट गरेका थिए।

घटना सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले तत्काल कदम चाल्दै केसीलाई हेडक्वार्टर तानेको हो। उनी सार्वजनिक बस चढेर काठमाडौं लागेका थिए।

यस प्रकरणको छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयबाट डिएसपी नारायण डाँगी नेतृत्वको टोली बिहीबार बिहानै डोल्पा पुगेको छ। टोलीले सईसहित अन्य प्रत्यक्षदर्शीसँग बयान लिने प्रक्रिया अघि बढाएको बताइएको छ।

यस विषयमा प्रतिक्रिया माग्दा सई रसाइली मौन बसेका छन् भने जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक मनीष झाले भने डिएसपी केसी काठमाडौं व्यक्तिगत कामले गएको प्रतिक्रिया दिएका छन्।

प्रहरी संगठनभित्रकै यस्तो अनुशासनहीन व्यवहारबारे गम्भीर प्रश्न उठिरहेका बेला उक्त घटनाले थप चर्चा बटुलेको छ।

तपाईको प्रतिक्रिया