ताजा समाचार

पत्रकार महासंघ जाजरकोटकाे आयोजनामा धान दिवस सम्पन्न

 

रेशम खड्का

जाजरकोट ।
नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। “धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित भेरी नगरपालिका–१, कालेगाउँस्थित खेतमा आयोजित कार्यक्रममा पत्रकार, सुरक्षाकर्मी, स्थानीय किसान र विभिन्न निकायका प्रतिनिधिको उल्लेखनीय सहभागिता रह्यो।

सरकारी तहबाट नआयोजित यस वर्षको कार्यक्रम पत्रकार महासंघले नेतृत्व गरेर सम्पन्न गरेको हो। महासंघका उपाध्यक्ष विनोद कुमार घर्तीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो भने सल्लाहकार बालकुमार शर्माले कार्यक्रमको औपचारिक जानकारी दिँदै धान दिवसको बहुआयामिक सन्देशलाई प्रष्ट पारे।

उनले भने,“धान दिवस केवल रोपाइँको उत्सव होइन, कृषि संस्कृतिको जगेर्ना, खाद्य सुरक्षामा प्रतिबद्धता र आत्मनिर्भरताको अभियान पनि हो। पत्रकार महासंघले समाचार मात्र होइन, किसानसँगै खेतमै पस्ने संकल्प देखाएको छ।”

कार्यक्रममा सहभागीहरूले खेतको हिलोमा रमाउँदै धान रोपे। सुरक्षाकर्मी, पत्रकार र स्थानीय प्रतिनिधिहरूको हिलो र हाँसोले कार्यक्रमलाई अझ जीवन्त बनायो।
स्थानीय किसान तथा खेतधनी उत्तम बटालाले उत्साह व्यक्त गर्दै भने,
“आज हाम्रा खेतमा पत्रकारदेखि सुरक्षाकर्मीसमेत आएर रोपाइँ गर्नुभयो, यो हाम्रो लागि अविस्मरणीय क्षण हो।”

कार्यक्रमको सुरुमा सहभागीहरूबीच परम्परागत दही–चिउरा बाँडिएको थियो।

तपाईको प्रतिक्रिया