पुर्ण सार्की/ डोल्पान्युज। हिमाली जिल्ला डोल्पाका उच्च स्थानहरुमा हिमपात भएको छ। लामो समय पछिको वर्षात र हिमपातले डोल्पाका कृषक हर्षित भएका छन्।
(हुम्लामा हिमपातका कारण जनजीवन कष्ठकर) फोटो: उजिर रावत)
मध्यराती देखि पानी र हिमपात पर्न सुरु गरे सगै मौसम अन्धकार बनेको छ। डोल्पाको डोल्पो बुद्ध गाउँपालिका, शे- फोक्सुण्डो गाउँपालिका, छार्काताङ्सोङ गाउँपालिका , काइके गाउँपालिकाका केही क्षेत्रमा भारी हिमपात भएको छ। तल्लो डोल्पाको त्रिपुरासुन्दरी, ठुलीभेरी , मुड्केचुला, जगदुल्लाका उच्चभागमा हिमपात भइरहेको छ भने केही भागमा भारी वर्षा भइरहेको छ। हिमपात र वर्षा सगै डोल्पा बासीको जनजीवन चिसोले कष्टकर बनेको छ।
पानी पर्न थाले सगै जिल्लामा विद्युत सेवा समेत अवरुद्ध हुन थालेको छ। डोल्पा सगै कर्णालीका अन्य हिमाली जिल्लाका उच्च स्थानमा समेत हिमपात भएको छ। हिमपातका कारण डोल्पा, हुम्ला, जुम्ला , मुगुमा हवाई यातायात सेवा बन्द भएको छ भने जनजीवन चिसोले कष्ठकर बनेको छ।
लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा कार्तिके बाली कोदो, मकै छर्नका लागि खेतबारीमा हलो लगाउन सजिलो हुने त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ का किसान जुन बहादुर सार्कीले बताए ।
आकाशे पानीको भरमा सिँचाइ गरिने ठाउँमा लगाइएको तरकारी र खाद्यान्न बालीमा राम्रो उत्पादन हुने हुँदा कृषक खुसी भएको स्थानीय चन्द्ररुपा सार्कीले बताइन।