ताजा समाचार

युवक बेपत्ता प्रकरणले डोल्पामा यातायात ठप्प, प्रहरी–स्थानीय टकराव चर्कियो

विष्णुप्रसाद देवकोटा

डाेल्पा।

स्थानीय युवक बेपत्ता भएको घटनालाई लिएर डोल्पामा प्रहरी र स्थानीयबीचको विवाद चर्किँदा जिल्लाभरको यातायात सेवा अनिश्चितकालीन रूपमा बन्द भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत ल्हाँ गाउँका स्थानीयले न्यायको माग गर्दै आन्दोलनमा उत्रिएपछि जिल्ला भित्रिने–बाहिरिने सवारी साधन पूर्ण रूपमा रोकिएका छन्, जसका कारण यात्रुहरू अलपत्र परेका छन्।

शुक्रबार साँझ ईलाका प्रहरी कार्यालय करोपगार्ड नजिकै ३४ वर्षीय जुन रोकाय लागुऔषध ओसारपसारको आशंकामा चेकजाँचका क्रममा ठूलो भेरी नदीमा हाम फालेर बेपत्ता भएपछि अवस्था तनावग्रस्त बनेको हो। प्रहरीले चेकजाँच गर्न नपाउँदै रोकाय आत्तिएर नदीमा हाम फालेको दाबी गरे पनि स्थानीयले भने प्रहरीले लखेटी ज्यान लिएको गम्भीर आरोप लगाएका छन्।

घटनाको सत्यतथ्य छानबिन गर्न प्रदेश प्रहरी कार्यालय सुर्खेतले एसपी रामप्रसाद घर्तीमगरको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। छानबिन टोली घटनास्थलतर्फ हिँडिसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

घटनापछि न्यायको माग गर्दै शनिबार साँझ नै रोकायका परिवारसहित ल्हाँ गाउँका स्थानीय जिल्ला प्रशासन कार्यालय दुनै पुगेका थिए। छानबिन नटुंगिँदासम्म यातायात बन्द गर्ने निर्णय गरिएको स्थानीयले बताएका छन्। घटनास्थल नै जिल्लाको प्रमुख यातायात नाका भएकाले ठूला–साना सबै सवारी साधन रोकिएका छन् भने बिरामी तथा अत्यावश्यक कामका लागि पासको आधारमा मात्र आवत–जावत खुला गरिएको छ।

तनाव चर्किँदै जाँदा शनिबार साँझ स्थानीयले ईलाका प्रहरी कार्यालय करोपगार्डमा तोडफोड समेत गरेका थिए।

वडा नं ५ का अध्यक्ष नर झाँक्रीले भने, “अत्यन्तै दुखद घटना भएको छ। गाउँलेले एक युवा गुमाएका छन्। निष्पक्ष छानबिन र न्याय आवश्यक छ।”

प्रमुख जिल्ला अधिकारी भिमराज कोइरालाले छानबिन समिति गठन भइसकेको र स्थानीय सरकारको समन्वयमा वार्ताका लागि प्रशासन तयार रहेको बताउँदै यातायात बन्द तथा थप तोडफोड नगर्न संयमित हुन स्थानीयलाई आग्रह गरेका छन्।

घटनापछि ईलाका प्रहरी कार्यालय करोपगार्डमा कार्यरत दश जना प्रहरीलाई जिल्ला तानिएको छ भने घटनामा प्रत्यक्ष जोडिएका चार जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमै निगरानीमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया