हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका बालविवाहमुक्त पालिका घोषणातर्फ अग्रसर हुँदैछ। २०८२ असार १ गते बालविवाह विरुद्धको साझा अभियान सञ्जाल डोल्पाको आयोजनामा तथा गाउँपालिकाको समन्वयमा सम्पन्न महत्वपूर्ण बैठकले आर्थिक वर्ष २०८२/८३ भित्र बालविवाहमुक्त पालिका घोषणा गर्न गाउँसभामा आवश्यक नीति, कार्यक्रम र बजेट विनियोजनका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
रणनीति, प्रयास र प्रभाव गाउँपालिकाको नेतृत्वमा तथा सञ्जालको सहकार्यमा विगत दुई वर्षदेखि गाउँ, बस्ती र वडा स्तरमा सञ्चालन गरिएका सचेतनामूलक अभियान तथा पाँच वर्षीय रणनीतिक योजना कार्यान्वयनको प्रभावस्वरूप बालविवाहको अवस्थामा उल्लेखनीय सुधार आएको बताइएको छ। विशेषतः वडा नं. १ देखि ४ सम्म सुधार सन्तोषजनक भए पनि वडा नं. ५ र ६ मा अपेक्षित सुधार नआएकाले ती वडामा लक्षित कार्ययोजना सहितका कार्यक्रम सञ्चालन गरिने बैठकले निर्णय गरेको छ।
सरोकारवालाको सहभागिता र प्रतिबद्धता बैठक गाउँपालिका उपाध्यक्ष अमृता लामाको अध्यक्षतामा सम्पन्न भएको थियो, जसमा विभिन्न वडाका अध्यक्षहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र ऐडी, योजना शाखा प्रमुख, महिला तथा बालबालिका शाखा, र सञ्जालका कर्णाली प्रदेश सचिवालय सदस्य रणबहादुर कार्की लगायतको सहभागिता रहेको थियो। बैठकमा सहभागी सबै सरोकारवालाले आर्थिक वर्ष २०८२/८३ भित्र बालविवाहमुक्त घोषणा गर्ने सामूहिक प्रतिबद्धता जाहेर गरेका थिए। बैठकको सहजीकरण स्वयं सञ्जाल सदस्य रणबहादुर कार्कीले गरेका थिए।
सम्मान र समर्पणको क्षण बैठकको प्रारम्भमा सञ्जाल सचिवालय संयोजक संस्था आवाज सुर्खेतको रजत जयन्तीको अवसरमा पालिकालाई प्रदान गरिएको सम्मान पत्र पनि सार्वजनिक रूपमा उपाध्यक्ष अमृता लामामार्फत हस्तान्तरण गरिएको थियो।
रणनीति निर्माण र साझा संकल्प बैठकले बालविवाह रोकथामका लागि थप सूचकहरू निर्माण, समस्या विश्लेषण, चुनौती पहिचान र सबै सरोकारवाला निकायको साझेदारीमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने स्पष्ट योजना अघि सारेको छ। उपाध्यक्ष लामाले पालिकालाई २०८२/८३ भित्र बालविवाहमुक्त घोषणा गर्ने दृढ संकल्पका साथ “हाम्रो कार्यकालभित्र डोल्पाको पहिलो बालविवाहमुक्त पालिका बन्नेछ” भन्ने उत्साही प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
त्रिपुरासुन्दरी नगरपालिकाको सक्रियता यसै सन्दर्भमा असार २ गते त्रिपुरासुन्दरी नगरपालिकामा पनि सञ्जालको प्रदेश सचिवालय अन्तर्गत गरिब तथा दलित उत्थान सेवा समितिको आयोजना तथा नगर प्रमुख जनचन्द्र रोकायाको अध्यक्षतामा बालविवाह रोकथामबारे समीक्षा बैठक सम्पन्न भएको छ।
महिला तथा बालबालिका शाखा प्रमुख सरिता सिंहले हालसम्म नगरमा गरिएको नीतिगत, संरचनागत र कार्यान्वयनगत प्रयास, चुनौती र उपलब्धिबारे जानकारी दिएकी थिइन्। बैठकमा नगर उपप्रमुख देवी घर्ति, निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर थापा, योजना प्रमुख, वडाध्यक्षहरु तथा सरोकारवाला संस्थाहरूको सक्रिय उपस्थिति थियो।
बैठकले आवधिक रणनीतिक योजना निर्माण, नीति तथा कार्यक्रम सुनिश्चित गर्ने निर्णय गर्दै आगामी नगरसभामा बजेट विनियोजनको प्रतिवद्धता जनाएको छ। नगर प्रमुख रोकायाले अघिल्लो आर्थिक वर्षमा निर्णय भएर पनि कार्यक्रम र बजेट सुनिश्चित हुन नसकेको अवस्थालाई सम्बोधन गर्दै, “आगामी वर्ष यस अभियानलाई प्राथमिकतामा राखिनेछ,” भनी स्पष्ट प्रतिबद्धता व्यक्त गरेका थिए।
डोल्पाका दुई स्थानीय तहहरू—जगदुल्ला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिका—दुवैले बालविवाह अन्त्यका लागि नीतिगत स्पष्टता, संरचनागत सक्रियता र सामाजिक सहकार्यमार्फत बालमैत्री समाज निर्माणतर्फ सशक्त कदम चालेका छन्। २०८२/८३ ले डोल्पालाई बालविवाहमुक्त घोषणाका ऐतिहासिक उपलब्धिको युगान्तकारी सम्भावनामा उभ्याउने संकेत देखिएको छ।

डोल्पा न्यूज । २ असार २०८२, सोमबार २१:१७