विष्णुप्रसाद देवकोटा
डोल्पा । नेपालकै प्रसिद्ध पर्यटकीय गन्तव्य फोक्सुण्डो ताल र त्यस आसपासको ऐतिहासिक रिङ्ग वस्तीको प्रवर्द्धनका उद्देश्यसहित प्रदेश सरकारले ‘रिङ्गिबो वस्ती विकास कार्यक्रम’ सुरु गरेको छ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेल र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले संयुक्त रूपमा उक्त कार्यक्रमको शिलान्यास गरेका हुन्।
कार्यक्रमअन्तर्गत साङ्टादेखि फोक्सुण्डो तालसम्मको पदमार्ग स्तरोन्नति, दुनैदेखि ट्रेकिङ रुटमा प्रत्येक दुई किलोमिटरमा १६ वटा प्रतिक्षालय निर्माण, रिङ्ग वस्तीभित्रको सडक विस्तार तथा ढल निकास, दुई विद्यालयका पूर्वाधार निर्माण, दुई वटा ट्रस पुल, स्थानीय गुम्बाका लागि खानेपानीको व्यवस्था, फोक्सुण्डो तालको सम्पूर्ण दृश्य देखिने भ्यूपोइन्टसम्मको पदमार्ग र प्रतिक्षालय, साथै संग्रहालय र पार्क निर्माण कार्य गरिनेछ।
त्यसैगरी, वस्तीलाई प्राकृतिक विपद् जोखिमबाट जोगाउन तटबन्धन निर्माण पनि परियोजनामा समावेश गरिएको छ।
करिब रू २१ करोड १२ लाख लागतमा सञ्चालन हुने यो योजना २०८४ साल असारसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ। यस परियोजनाले फोक्सुण्डो ताल र आसपासका क्षेत्रको पर्यटन प्रवर्द्धनमा नयाँ गति दिने अपेक्षा गरिएको छ।शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर राेकाया सहितकाे उपस्थिति रहेकाे थियाे ।

डोल्पा न्यूज । २२ कार्तिक २०८२, शनिबार ०८:२२