विष्णुप्रसाद देवकोटा
डोल्पा । चार वर्षदेखि अबरुद्ध अवस्थामा रहेको दुनै सरस्वती मन्दिर–तिप्ला–काडाताली सडकको पुनःनिर्माणबारे अन्ततः सर्वपक्षीय सहमति जुटेको छ। डोल्पाको सदरमुकाम दुनैमा आयोजित बैठकमा सडक निर्माण पुनः सुरु गर्ने विषयमा सर्वपक्षीय सहमतिसहित ठोस कार्ययोजना अघि बढाउने निर्णय भएको हो।
पूर्वाधार विकास कार्यालय डोल्पाको अगुवाइमा सम्पन्न भेलामा सडक खन्दा स्थानीय बस्ती, वातावरण, र जलस्रोतमा असर नपर्ने गरी निर्माण कार्य अघि बढाउने प्रस्तावले समर्थन पाएको छ।
स्थानीयको चासो, पूर्वाधारको आग्रह
०७९ सालदेखि सुरु भएको सडक निर्माण कार्य त्यसबेला स्थानीयको तीव्र विरोधबीच जबरजस्ती अघि बढाइएको थियो। निर्माण व्यवसायीहरुले सदरमुकाम दुनैबजारमाथिबाट जोखिम निम्त्याउने गरी सडक खनेपछि स्थानीयले अवरोध गरे। त्यसपछि आएको बाढीले ढुस्का बस्तीमा क्षति पुर्याएपछि आन्दोलन चर्कियो र अख्तियारमा मुद्दासमेत पर्यो।
दुई वटा निर्माण कम्पनी — सर्वशक्ति महामाया निर्माण सेवा र वल्डवाईड श्रीया जुगल जेभी — ले गरी झन्डै ६ करोड रुपैयाँको ठेक्का पाएका थिए। तर सडक खन्दा निस्किएको माटो र ढुङ्गा तिप्ला खोलामा फालिएको भन्दै बाढी र पर्यावरणीय जोखिम बढेको आरोप लाग्दै निर्माण थालनी रोकिएको थियो।
अबको बाटो: सहमतिमा सहकार्य
०८२ असार १७ गते प्रमुख जिल्ला अधिकारी रोमन महतले प्रशासनमा प्राप्त पत्रको आधारमा जानकारी गराउँदै भने, “अब सडक खन्दा माटो र ढुङ्गा खोलामा असर पर्ने गरी फाल्न नपाइने शर्तसहित निर्माणलाई निरन्तरता दिन सकिने स्पष्ट उल्लेख छ।”
जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले पनि यसबारे जोड दिँदै, “राज्यको लगानी खर्च भइसकेको अवस्थामा पुरानै रेखांकनमा आवश्यक सुधार गर्दै सडक निर्माणलाई अघि बढाउनु आवश्यक छ,” भने।
स्थानीयको सुझाव र राजनीतिक प्रतिवद्धता
बैठकमा सहभागि स्थानीय, जनप्रतिनिधि, तथा राजनीतिक दलका नेताहरुले निर्माण गर्दा सुरक्षाका उपाय र वातावरणीय संवेदनशीलता अनिवार्य पालना हुनुपर्ने अडान राखे।
नेकपा एमाले डोल्पाका अध्यक्ष लंक रोकायाले दिगो र जनउत्तरदायी निर्माणको माग गर्दै आवश्यक प्राविधिक सुधारको वकालत गरे। नेपाली कांग्रेसका सचिव हिक्मत शाही, स्थानीय अगुवा ओमेन्द्र केसी र महेश हमालले दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए।

साबिक कर्णाली प्रदेशका पर्यटन तथा वन मन्त्री नन्दसिं बुढाले विगतमा देखिएका कमजोरी स्वीकार्दै, “अब समुदायको सल्लाहअनुसार काम अघि बढाउनेछौं,” भने। ठुलीभेरी नगरप्रमुख सुवर्ण बुढाले पनि स्थलगत निरीक्षणपछि मात्रै निर्णय लिने स्पष्ट संकेत दिए।
बैठकले अबको निर्माण कार्य पारदर्शी, वातावरणमैत्री र जनतामुखी हुनुपर्ने सन्देश दिएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख ईन्जिनियर टेक हितानका अनुसार, असार २८ गते सर्वपक्षीय स्थलगत अनुगमनपछि सुझाव कार्यान्वयन गरिनेछ।
राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज, संचारकर्मी र सर्वसाधारणको उल्लेखनीय सहभागिताले यो विषय डोल्पाको विकास–चासोको केन्द्रमा रहेको संकेत दिएको छ।
अब सबाल यो हो: सहमतिमा बनेको यो सहकार्य व्यवहारमा कति दृढरूपमा कार्यान्वयन हुन्छ? समयले यसको जवाफ दिनेछ।

डोल्पा न्यूज । २१ असार २०८२, शनिबार १६:५५