ताजा समाचार

त्रिपक्षीय शैक्षिक साझेदारीमा सम्झौता:बुढानिलकण्ठ र डाेल्पाका दुई पालिकाबीच सहकार्य 

विष्णुप्रसाद देवकोटा

त्रिपुरासुन्दरी, डोल्पा | शैक्षिक सुधारको साझा प्रयासस्वरूप बुढानिलकण्ठ नगरपालिका (काठमाडौं), त्रिपुरासुन्दरी नगरपालिका र शे फोक्सुण्डो गाउँपालिका (डोल्पा) बीच त्रिपक्षीय शैक्षिक साझेदारीका लागि ऐतिहासिक सम्झौता भएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा आयोजित विशेष कार्यक्रममा तीनवटै पालिकाका प्रमुखहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतामा त्रिपुरासुन्दरी नगरप्रमुख जनचन्द्र रोकाया, शे फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावासम्दुक गुरुङ र बुढानिलकण्ठ नगरप्रमुख मिठाराम अधिकारीले हस्ताक्षर गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथि बुढानिलकण्ठकी उपप्रमुख अनिता लामा, शिक्षा महाशाखा प्रमुख ललितविक्रम सिंहसहितको टोली सहभागी थियो।

नगरप्रमुख अधिकारीले बुढानिलकण्ठले पछिल्लो तीन वर्षमा १४ प्रतिशत गुणस्तरीय शैक्षिक वृद्धि गरेको उल्लेख गर्दै असल अभ्यासहरू अन्य पालिकासँग साझा गर्दै आएको बताए। कक्षा १० सम्मका विद्यार्थीलाई निःशुल्क खाजा कार्यक्रम, चार GPA ल्याउनेलाई पाँच लाखसम्मको पुरस्कार व्यवस्था, र महिला शिक्षालाई प्राथमिकता दिएको पनि जानकारी गराए।

कार्यक्रममा बोल्दै त्रिपुरासुन्दरी नगरप्रमुख रोकायाले डोल्पा शैक्षिक रूपमा पछाडि परेको भए पनि गुणस्तरीय शिक्षा विकासमा सहयोग र सहकार्यले महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो। शे फोक्सुण्डो गाउँपालिका अध्यक्ष गुरुङले सकारात्मक सोच र जनचेतनाले दुर्गम क्षेत्रको पनि रूपान्तरण सम्भव रहेको बताए।कार्यक्रममा विशिष्ट अतिथि उपप्रमुख अनिता लामाले डोल्पाको दुःख, मर्म र सम्भावनाकाे गहिरो अनुभव गरिएको बताउँदै भनिन्, “यार्सागुम्बा मात्र होइन, डोल्पामा रहेका विविध उत्पादनहरूले देशको अर्थतन्त्रलाई योगदान दिन सक्छन्। प्रशासकीय र राजनीतिक शक्ति सक्रिय भए मात्र शिक्षा र अन्य क्षेत्रमा परिवर्तन सम्भव छ।”

उपप्रमुख लामाले सबै वडामा शैक्षिक सर्वे गरेर कुनै पनि बालबालिका विद्यालय बाहिर नपरोस् भन्ने उद्देश्यले काम अघि बढाइएको जानकारी दिइन्। “डोल्पाको धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा काठमाडौंका लागि नयाँ सम्भावनाको स्रोत हुन सक्छ,” उहाँले जोड दिनुभयो।बुढानिलकण्ठ नगरपालिकाका शिक्षा महाशाखा प्रमुख ललितविक्रम सिंहले आफू बीस वर्षपछि डोल्पा फर्किएको अनुभव साझा गर्दै, “त्रिपक्षीय साझेदारी, अनुभव आदानप्रदान र असल अभ्यास अनुसरणमार्फत शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार ल्याउने हाम्रो साझा उद्देश्य हो,” भन्नुभयो। उहाँले पछिल्ला तीन वर्षमा बुढानिलकण्ठमा १४ प्रतिशत गुणस्तरीय शैक्षिक वृद्धि भएको उल्लेख गर्नुभयो।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रशासकीय अधिकृत भीम थापाले विकट क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक विकासमा बुढानिलकण्ठको सहकार्यले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार त्रिपुरासुन्दरी नगरपालिकामा हाल २९ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् भने न्यूनतम स्रोत-साधनको बाबजुद नगरपालिका शैक्षिक विकासमा लागिपरेको छ।

बुढानिलकण्ठ नगरपालिकाले डोल्पाका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न र जेहेन्दार विद्यार्थीहरूका लागि स्टेसनरी सामग्री (कपी, झोला, कलम) समेत प्रदान गरेको छ।

उक्त सहकार्यले दुर्गम डोल्पा र काठमाडौं उपत्यकाबीचको भावनात्मक सम्बन्ध सुदृढ गर्दै शिक्षामार्फत् समावेशी विकासमा योगदान पुर्‍याउनुका साथै दुर्गम क्षेत्रलाई गुणस्तरीय शिक्षामार्फत भावनात्मक रूपमा काठमाडौंसँग जोड्ने र देशभित्रै भविष्य खोज्न सकिने विश्वास निर्माण गर्न सघाउने अपेक्षा गरिएको छ।कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका वडाअधयक्षहरु कार्यरत कर्मचारी र संचारकर्मीकाे उपस्थिति रहेकाे थियाे ।कार्यक्रमकाे अन्तयमा त्रिपुरासुन्दरी नगरप्रमुख जनचन्द्र राेकायाले त्रिपुरासुन्दरी याेगमाया भगवती मन्दिर डाेल्पामा उत्पादित बहुमजडिबुटीका साथै स्थानीय घरेलु उत्पादित कपडा शे फाेक्सुण्डाे पालिकाका अध्यक्ष धावासम्दुक गुरुङले पालिकाकाे विस्तृत जानकारी दिने डायरी मायाकाे चिनाेकाे रुपमा बुढानिलकण्ठ नगरपालिका प्रमुख उपप्रमुख सहितकाे टाेलिलाई प्रदान गर्नु भएकाे थियाे ।त्यसैगरी बुढानिलकण्ठ नगरपालिकाकाे तर्फवाट बुढानिलकण्ठस्थित विष्णु भगवानकाे तस्बिर मायाकाे चिनाेका रुपमा प्रदान गरिएकाे थियाे ।शैक्षिक साझेदारी सम्झौताकाे आेपचारिक कार्यक्रमकाे संचालन निमित्त  शिक्षा प्रमुख निर्माेद केसिले गर्नु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया