ताजा समाचार

आजबाट कर्णालीमा पहिलोपटक ‘छोरी सम्मेलन’

सुर्खेत — कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शनिबारदेखि ‘कर्णाली छोरी सम्मेलन–२०८२’ सुरु हुँदैछ। ज्योति फाउण्डेसन र कर्णाली प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयको सहआयोजनामा तीन दिनसम्म चल्ने यो सम्मेलन कर्णालीमा पहिलोपटक हुन लागेको छ।

सम्मेलनको उद्देश्य कर्णालीकी छोरीहरूलाई सचेत, सवल, सक्षम र आत्मनिर्भर बनाउँदै उनीहरूको जीवन रूपान्तरणमार्फत कर्णालीको उज्वल भविष्य निर्माण गर्नु हो।

ज्योति फाउण्डेसनकी अध्यक्ष ज्योति कटुवालका अनुसार, सम्मेलनमा कर्णाली प्रदेशका ७९ स्थानीय तहबाट २/२ जना र राउटे, राजी, बादी तथा बोटे समुदायबाट थप २/२ जना गरी करिब २ सय छोरीहरूको सहभागिता रहनेछ।

कार्यक्रममा ‘छोरीका मनका कुरा’ अन्तर्गत सहभागीहरूले आफ्ना भोगाइहरू सुनाउने छन् भने सिर्जनशील प्रतिभालाई प्रस्तुतीकरणको अवसर दिइनेछ। साथै, ‘छोरीहरूको जीवन रूपान्तरण’ शीर्षकमा विज्ञद्वारा विश्लेषणात्मक व्याख्यान हुनेछन्।

प्रत्येक दिन राजनीतिमा कर्णालीकी छोरी, शिक्षित छोरीको आवश्यकता, स्वस्थ छोरी–स्वस्थ कर्णाली, कानुनी सेवा, महिनावारीको सकस, आमाका कुरा, हामी सक्छौं, कर्णालीका कोइली, कर्णालीका न्याउली लगायत शीर्षकमा बहस सत्र सञ्चालन हुनेछन्।

विषयगत विज्ञहरू वक्ता तथा सहजकर्ताको भूमिकामा रहनेछन् भने अधिकांश सत्रमा कर्णालीलाई आफ्नो जन्मथलो, थातथलो वा कर्मथलो बनाएका सन्ततीहरूलाई प्राथमिकता दिइनेछ।

छोरीहरूका आवाज मुखरित गर्दै उनीहरूलाई आत्मविश्वासी बनाउने उद्देश्यले आयोजना गरिएको यो सम्मेलन कर्णालीमा समावेशी र समानुपातिक सहभागिताको अनुपम उदाहरण बन्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया