डोल्पा,मङ्सिर ७ गते ।जिल्ला प्रशासन कार्यालय डोल्पामा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले जुफाल विमानस्थलमा हवाई टिकट वितरणमा भइरहेको बेथितीलाई ब्यवस्थित गर्नु पर्नेमा जोड दिएको छ ।
ठूलिभेरी नगरपालिकाका नगरप्रमुख श्ववर्ण बुढाको समन्वयमा प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालको अध्यक्षतामा सर्वपक्षिय सर्बदलिय बैठक सम्पन्न भएको हो ।
डोल्पाको जुफाल विमानस्थलमा हवाई टिकट वितरण गर्दा एयरलाइन्सहरुले विहान ६ बजेदेखि दिउसो २ बजेसम्म टिकट काउन्टरमा बसि हवाई सिटसंख्याको आधारमा टिकट वितरण गर्नु पर्ने,सरकारी तथा नीजिएयरलाइन्सले प्रत्येक उडानमा दुई ओटा सरकारी सिट छुट्याउनु पर्ने र सरकारी स्वमित्वको नेपाल एयरलाइन्सले हप्ताभर हुने उडानको एकमुष्ट समय तालिका सार्वजनिक गर्नु पर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै गरी विमानस्थलको ट्रमिनल भवनसम्म सडक नपुगेकाले यात्रुहरुलाई लगेज तथा समानहरु ओसार्न सास्ती ब्यहोर्नु परेकोले ट्रमिनल भवनसम्म जीप सेवा संचालन गर्ने गरी नगरले समन्वयकारी भूमिका खेल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
जुफाल विमानस्थलमा हवाई टिकटमा सम्बन्धित एयरलाइन्सका कर्मचारीको सिण्डीकेटका कारण नागरिकको पहुँच हवाई टिकट सम्म नपुगिरहेको अवस्थामा सर्वदलिय सर्वपक्षिय बैठकले गरेको निर्णय कार्यान्वयनमा आए सर्वसाधारणमा राहत पुग्ने छ ।यसै गरि जिल्ला भित्र संचालित ठुलाे गाडिभाडादर प्रतिकिलाेमिटर २४ रुपियाँ र सानाे गाडिकाे २७ रुपियाँ समेत कायम गर्ने निर्णय हुनुका साथै निर्णय विपरित भाडा असुलेमा कार्वाही गरिने जनाईएकाे छ ।
सर्वदलिय बैठकमा नेपाल नागरिक उड्यान प्राधिकरणका उपप्रबन्धक कृष्ण रिजाल जिल्ला समन्वय समितिका प्रमुख श्याम रोकाय नेपाली काँग्रेसका गौरीशंकर उपाध्याय नेकपा माओवादीका कमलबहादुर शाही एकीकृत समाजवादीका युवराज थकाली नगारिक समाजका अध्यक्ष शेरबहादुर बुढा लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।