ताजा समाचार

डोल्पाका चार दलको विज्ञप्ति :न्यायिक छानबिन समिति गठनको माग

डोल्पा, भदौ २७ ।डोल्पाका चार राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै जेने–जी आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। दलहरूको बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्यलाभको कामना गर्दै घटनामा संलग्न सरकारी संरचनाको दुरुपयोग र दमनकारी व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ। साथै उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “जेने–जी आन्दोलनबाट उत्पन्न जनताको आवाजलाई सम्बोधन गर्ने प्रमुख बाटो शान्ति, संवाद र समायोजन नै हो। संविधानको रक्षा गर्दै लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास गर्न सबै दलहरू एकजुट हुनुपर्छ।”

दलहरूले आन्दोलनमार्फत उठाइएका मागहरू संवैधानिक तरिकाले सम्बोधन गर्न आग्रह गरेका छन्। “जनताले दिएको मतलाई सम्मान गर्ने जिम्मेवारी सरकारको हो,” विज्ञप्तिमा उल्लेख छ, “यसका लागि आवश्यक संवैधानिक कदम तुरुन्तै चाल्नुपर्छ।”

साथै, दलहरूले हालको संवैधानिक व्यवस्थाबाट पछि नहट्ने स्पष्ट संकेत गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा आफूहरू अडिग रहने बताए।

संयुक्त विज्ञप्ति नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी डोल्पाका नेताहरूले हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्।

तपाईको प्रतिक्रिया