विष्णुप्रसाद देवकोटा 
डोल्पा ।नेपाली कांग्रेस कर्णाली प्रदेश समितिको समन्वय र जिल्ला कार्यसमितिको व्यवस्थापनमा जिल्ला प्रशिक्षण शाखा डोल्पाको आयोजनामा एकदिवसीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा कांग्रेस कर्णाली प्रदेशका सहमहामन्त्री रामछाँया शाहीले जिल्लास्तरका नेता, कार्यकर्ता तथा भातृ–सुभेच्छुक संस्थाका प्रतिनिधिहरुलाई पार्टीको भावी नीति, संगठन सुदृढीकरण, रणनीति तथा नेता–कार्यकर्ताको आचरण सुधार विषयमा प्रशिक्षण दिएका थिए।
प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेस जिल्ला उपसभापति तथा जिल्ला प्रशिक्षण शाखाका संयोजक पूर्णबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकाया, ठूलीभेरी नगरपालिकाका नगरप्रमुख सुवर्ण कुमार बुढा लगायत विभिन्न तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पार्टीका केन्द्रीय नीतिलाई जिल्लास्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने रणनीति तय गर्न, संगठनात्मक क्षमता वृद्धि गर्न तथा अनुशासित र जिम्मेवार कार्यशैलीको विकासका लागि सो प्रशिक्षण आयोजना गरिएको बताइएको छ।
कार्यक्रमकै अवसरमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका इन्द्रबहादुर रोकायाको औपचारिक स्वागत गरिएको थियो। सहमहामन्त्री शाहीसहित उपस्थित नेताहरूले उनलाई अविर, टीका र पुष्पगुच्छा अर्पण गर्दै पार्टीमा स्वागत गरेका थिए।

डोल्पा न्यूज । २२ असार २०८२, आईतवार १९:२८