ताजा समाचार

१७ हजार पर्यटकले गरे मुगुकाे रारा भ्रमण

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असार मसान्तसम्मको अवधिमा १७ हजार २ सय ९७ जना आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेका हुन् ।

त्यसमध्ये १७ हजार आन्तरिक, सार्क राष्ट्रका नागरिक ६० जना, अन्य देशका नागरिक २ सय ३७ जना गरी १७ हजार २ सय ९७ पर्यटकले रारा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्जको कार्यालय हुटु मुगुका निमित्त संरक्षण अधिकृत जयहरि धितालले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९/०८० मा ११ हजार पर्यटक रारा पुगेका थिए । गत बर्ष ६ हजारले रारा पुग्ने पर्यटकहरू वृद्धि भएका हुन् । रारा घुम्नका लागि फागुनदेखि असार तथा असोजदेखि मङ्सिर र पुसदेखि माघ महिना उपयुक्त मानिन्छ ।

सडक र हवाई यातायात सहज हुँदै जान थालेपछि रारामा पर्यटकको सङ्ख्यामा बढ्दै जान थालेको हो । पछिल्लो पटक अधिकांश आन्तरिक पर्यटक कर्णाली राजमार्गबाट दैलेख, कालीकोट, जुम्ला सिंजा क्षेत्र अवलोकन गर्दै रारा पुग्ने गरेका छन् ।

समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा तालको सौन्दर्य हेरेर दङ्ग नहुने सायदै कोही नहोला । सफा, कञ्चन निलो बैजनी, सिम्रिक अनि कहिले खैरो । मौसम अनुसार दिनमै चार पाँच चोटि फेरिने राराको पानीको रङ्गमा सिन्जे र कान्जिरोवा हिमालको छाया मिसिएपछिको दृश्य वर्णन गर्न लायकको हुन्छ ।

गत वर्षको साउनदेखि असार अन्तिम सम्ममा ४५ लाख ९८ हजार ८ सय ७१ रुपैयाँ राजस्व सङ्कलन भएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!