विष्णु देवकोटा / पुर्ण सार्की
डाेल्पा ५ असार
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको ११ औं ननगरसभाले जिल्लामै पहिलो पटक नीति तथा कार्य्रकम प्रस्तुत गरेको छ।
आर्थिक वर्ष २०८१।८२ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख जनचन्द्र रोकायले शिक्षा, स्वास्थ्य, कृषि र सडक विकासलाई बिशेष प्राथमिकतामा राखेको बताउनु भयो।
“सचेत नागरिक मार्फत दिगो पुर्वाधार, स्वच्छ,सरसफाई ,सुशासन सहित समृद्ध नगर निर्माणको आधार” भन्ने मुल नाराका साथ राखिएको ११ औं नगर सभा देखि संविधानको कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्वमा वृद्धि, रोजगारी सिर्जना , सुशासन प्रबर्दन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण त्रिपुरासुन्दरी नगरपालिकाको प्राथमिकता रहेका छन् ।
नगरसभा देखि ल्याएको नीति तथा कार्यक्रममा शिक्षा युवा तथा खेलकुदलाई पहिलो प्राथमिकता राखेको छ ।
जसमा नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूलाई सूचना मैत्री बनाउनका साथै अनलाइन र अफलाइन पुस्तकालयको सिकाईमा गुणस्तर अभिवृद्धि गर्ने नीति अबलम्बन गरिएको छ।
स्वास्थ्य तर्फ न्युन आयस्रोत भएका गर्भवती महिला हरुलाई स्वास्थ्य संस्थामा सुत्केरी भए बापत पोषण कोशेली कार्यक्रम सञ्चालन गरिने बताइएको छ । साथै त्रिपुराकोट स्वास्थ्य चौकीलाई नमुना स्वास्थ्य चौकी बनाउनुका साथै सुविधा सम्पन्न युक्त बर्थिङ सेन्टरको लागि आवश्यक पहल गरिने समेटिएको छ।
त्यस्तै पर्यटन विकास तर्फ ऐतिहासिक सांस्कृतिक तथा प्राकृतिक स्थलको रूपमा परिचित डोल्पा जिल्लाकै पवित्र धार्मिक पीठ बाला त्रिपुरासुन्दरी मन्दिर, छल बुडाल मष्टा, गल्लीको भवानी मष्ट , विक्रम शाही महाराजको दरबार र रल्ली राजारानी जस्ता पुरातात्विक क्षेत्रको संरक्षण र सम्बर्द्धन गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने छ।
नगरपालिकामा भवन निर्माण सम्बन्धी आवश्यक कार्यविधि कार्यान्वयनमा ल्याइने छ ।
उद्यमशीलता विकास तर्फ औद्योगिक ग्रामको स्थापना गरी स्थानीय रोजगारीमा वृद्धि गर्ने नीति समेटिएको छ।
कार्यक्रमको उद्दघाटन जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम रोकाय र कार्यक्रमका सभाध्यक्ष तथा नगर प्रमुख रोकायाले संयुक्त रूपमा गर्नु भएको थियो।
नीति तथा कार्यक्रममाथि आफ्नो भनाइ राख्दै जिल्ला समन्वय समिति प्रमुख रोकायले नीति तथा कार्यक्रम ल्याउँदा लक्ष्य सहितको ल्याउनु पर्ने र आन्तरिक आय र श्रोत बढाउन स्थानीय नागरिकको जीवन स्तर माथि उकास्न आवस्यक रहेको बताउनु भयो।
स्थानीय सरकार नागरिकको लागि आँसु र हाँसो बेलामापनि स्थानीय सरकार नागरिकको साथमा हुनु पर्ने उल्लेख गर्दै समग्र नगरको सफलता र प्रभावकारिताका लागि सिंगो नगर परिवारको साझा जिम्मेवारी रहनु पर्ने उहाँको भनाई थियो।
नागरिक समाजका अध्यक्ष शेर बहादुर बुढाले प्रस्तुत नीति तथा कार्यक्रम हेर्दा राम्रो देखिएतापनि प्रष्टता नभएको उल्लेख गर्दै कुनै पनि नीति तथा कार्यक्रमको अल्पकालीन र दीर्घकालीन रूपमा स्पष्ठ हुनु पर्नेमा जोड दिनु भयो।
कार्यक्रममा त्रिपुरा सुन्दरी नगरपालिकाकी उप- प्रमुख देवी घर्तीले नीति तथा कार्यक्रम सकभर स्थानीय बासिन्दाको माग र आवश्यकताको आधारमा प्राप्त सुझावलाई समेटेर ल्याइने बताउनु भयो
नीति तथा कार्यक्रमको अवसरमा नगरपालिकाले सेवा निवृत्त कर्मचारी , सेवा प्रवाहमा उत्कृष्ट कर्मचारी र मावि र आधारभूत विद्यालयका उत्कृष्ठ शिक्षकहरुलाई सम्मान पत्र सहित खादा र अविर लगाएर सम्मान गरिएको थियो।
कार्यक्रममा जिल्लास्थित सरोकारवाला निकाय, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पूर्व तथा वर्तमान नगरपालिकाका जनप्रतिनिधि, स्थानीय सहित जिल्लास्थित संचारकर्मी लगाएतको उपस्थिति रहेको थियो।