– किशोर नेपाल
शिर्षक त हुनैपर्ने हो ः ‘यो काठमाडौ, हाम्रो काठमाडौं ।’
मेरा लागि काठमाडौ भनेको जीवन हो । मेरा प्रिय लेखक कुमार नगरकोटीका लागि यो शहर नभएर प्रयोगभूमि होला । मेरा लागि उनी कुमार नगरकोटी नभएर ‘कुमालकोठी’ मात्रै हुन । एकनम्बरका डर छेरुवा । आफनै पात्रहरु आएर धुस्नु चुटान गरि देलान भनेर बहुतै चिन्तित । उनी रात परेपछि मात्रै मसानको भ्रमणलाई अहमियत दिन्छन । किन दिन्छन ? त्यो मलाइ थाह छ । रात परेपछि भूत पनि मसानघाटमा बस्दैन । कुमालकोठी भूत होइन । उ त स्टक एक्स्चेन्जको समीक्षक हो जसलाई स्टक एक्सचेन्जको बारेमा केही पनि आउँदैन ।
यो त मंगलाचरण मात्रै हो कुमालकोठीको । अब मेरो कुरा गरौं ।
म कोलाहलमय काठमाडौलाई मन पराउँछु । म निरन्तर आवाजहरुको शहर काठमाडौंमा हुर्किएको मान्छे । नेपालमा एक–दुइ जनालाई हेरेर मात्रै हुन्छ त ? शहरकै रुपमा त यो शहर काठमाडौं कहिले पो कोलाहलमय थिएन र ?
एक समय यस्तो पनि थियो जब मानिसहरुको कोलाहल बन्दहुन्थ्यो । त्यसपछि शहरका सार्वजनिक सम्पत्तिका परिसरमा उभिएर कुकुरहरु भुक्न थाल्दथे । रात परेपछि स्वयंसेवकका रुपमा शहरको पहरेदारीमा खटिएका हुन्थे ती कुकुरहरु । झिसमिसे बिहानमा त्यतिबेला ती कुकुर भुक्न छाड्थे जतिबेला शहरका भित्री भागमा बस्ने मानिस पशुपतिनाथको दर्शनगर्न खाली खुट्टा ‘द्यौःपाटन’ तिर लम्किन्थे । बिचित्रको थियो पशुपति मन्दिरप्रति जनताको आकर्षण । त्यो आकर्षण आजपनि छ । तर, आजको मानिस शिवको आकर्षणले तानिदैन । उ भगवानसंग जीवनको अर्थ खोज्दैन । खोज्छ भने एक चिलिम गाँजा खोज्दछ ।
काठमाडौ शहरमा देवी देवताहरु छ्यापछ्याप्ती भेटिन्छन । जताततै । वृक्षहरुको कापकापमा देवताको मूर्ति भेटिन्छन । बृक्षहरुकै ओट र आडमा कतै कुमारीस्थान बनेका हुन्छन, कतै नागस्थान । हिजोआज बाजे–बराजुले आफनो निजी जग्गामा बनाएका मन्दिर परिसरको बेचबिखन शुरु भएकोछ । नाती–पनातीबाट मन्दिर परिसरमा रोपिएका बृक्षहरुको कटानी गरेर अग्ला अग्ला घर बनाउने चलन शुरु भएकोछ । जग्गाको भाउ अकासिएको यो अवस्थामा आखिर कता जानु ? मन्दिर मासेर घर बनाएको पनि त होइन । देवताको दर्शनगर्न जो आएपनि हुन्छ घर कम्पाउण्ड भित्र । हामी आफनै सुरक्षामा लागेका छौं । त कसले कसलाई रोक लगाएको छ र ?
पहिले पहिले यो देश तीन शहर नेपालको नामले बढी जानिन्थ्यो, बुझिन्थ्यो र चिनिन्थ्यो । त्यतिबेलाको भूगोलमा सरकारका जिम्मावाल र गुठियारहरुले नेपाली संरचनाको संरक्षणमा त्यति ख्याल नपुर्याए पनि ढुंगेधाराहरु साबूत थिए । मसानघाट साबूत थिए । राजकुलो र नयाँ कुलाहरु पनि संरक्षित थिए । उनीहरुले भूगोलको संरक्षण नगरेको भए यति पनि थाहहुने थिएन । उसैपनि स्कूलका बिद्यार्थीहरुका लागि भूगोलको अध्ययन अहिले पनि उत्तिकै कठिन बिषय बनेकोछ ।
आजभन्दा चालीस–पचास बर्ष पहिले मेची–महाकाली सीमा हाम्रो ‘राष्ट्रिय’ दृष्टिको पहूँचमा आइ सकेका थिएनन । काठमाडौं, पाटन र भक्तपुर – तीन शहर नेपालले त्यतिबेलासम्म पनि पूरै नेपालको प्रतिनिधित्व गर्दथ्यो । वैभवकोे खानी थियो यो उपत्यका । धनधान्यले भरिएको । मन्जुश्रीले नागदह नामको पोखरीको दक्षिणतिर ठडिएको चोभारको डाँडो काटेर बागमती बहाएपछि पानीले सहज निकास पायो । त्यहीबेलादेखि काठमाडौं बिस्तारै ब्यबस्थित भयो नै, सम्पन्नपनि भयो । आधा शतक अघिसम्म उपत्यका छिचलेर बाहिर जाने बाटाघाटा नियन्त्रित थिए । शहर भित्रछिर्ने सुगम बाटो थिएन । भीमढुंगा पश्चिमको भन्ज्यांग थियो जसलाई जनजिब्रोले ‘भेडुंगा’ भन्ज्यांग भन्थ्यो । उत्तरमा पाँचमाने भन्ज्यांग थियो । यी दुबै भन्ज्यांगको महत्व अन्तर्राष्ट्रिय नाकाको भन्दा अलिकति पनि कम थिएन । यी दुबै नाकाको पहूँच धादिंग र नुवाकोटसम्म एकछत्र थियो ।
सातसालको क्रान्तिपछि बनेको ‘बाइरोड’ अर्थात त्रिभुवन राजपथले दक्षिण जोडने नाका चन्द्रागिरिको महत्व घटाइदियो । काठमाडौं शहरमा त्यतिबेला देखिने दुइचारवटा मोटर गाडी मानिसले चन्द्रागिरिको बाटो आफनो काँधमा बोकेर ल्याएका थिए । डाक्टरी पढेर पनि सक्रिय राजनीतिमा लागेका तुलसी गिरि चन्द्रागिरिको बाटो मानिसले बोकेर ल्याएको मोटर चढेर काठमाडौं शहरमा टहलिने केही शौखिन मध्येका एक थिए ।
उपत्यकाको पूर्वमा भक्तपुर शहर साँगा भन्ज्यांगसम्म फैलिएको थियो ।
यही थियो त्यतिबेलाको काठमाडौं उपत्यका ।
यो उपत्यकाको एउटा बिशेषता के हो भने यहाँ हरेक दशकमा एउटा नयाँ बस्ती र एउटा नयाँ बिचारको जन्महुने गर्दछ । शासनमा बस्ने मानिसहरु – चाहे ती ऐतिहासिक कोतपर्वमा मारिएका भारदारका सन्तान हुन अथवा ऐतिहासिक कोतपर्वपछि भर्तीमा परेका भारदारहुन – सबैको रुपान्तरण हुने गर्दथ्यो । राजा–महाराजा, भाइ–भारदार र साहू–महाजनको जीवन राजकीय र भव्य हुने गर्दथ्यो । यो उपत्यकामा हनुमानढोका नै राजदरवारको बिशाल बगैंचाका रुपमा स्थापित थियो ः फल र पूmलको भण्डार । अन्नवालीको भीमकाय भकारी । उत्तरी राज्य तिब्बतको राजधानी ल्हासा शहरसंग प्रचूर ब्यापार । काठमाडौ उपत्यकामा जहिले पनि र जति पनि राज्य र उपराज्य थिए ती सँधै गुलजार थिए । उपत्यका समृध्द थियो । शून्य त कहिल्यै छँदै थिएन ।
अहिले पो उपत्यका शून्य छ ः लोकप्रिय गल्लीहरुमा सत्तासीनको आवाजमात्र सुनिन्छ । सत्तासीनको त्यो आवाजमा ध्वनि पनि छैन, गति पनि छैन । नगरका निर्वाचित नेताहरु कर्कश कराउँछन गाँजा तानेको सुरमा । खुलामन्च मासेर मोटरपार्क बनाउन चाहन्छन । अकूत पैसा कमाएर समाजमा आफनो दवाव बढाउन चाहन्छन । सुनधारा मासेर ढुकुटीमा रुपैयाँ थुपार्न चाहन्छन । उनीहरुले इमानको नाममा चुनाव जितेको होइन । जमानका लागि पनि होइन । पछिल्लो समयमा काठमाडौं तरल हुन थालेकोछ । हिजोको समयमा पनि मानिसले यो शहरमा दूध र पानीको सपना देखेर जीवन बिताएका थिए । तै पनि, दूध र पानीको हाहाकार, कुनै सरकारको पालामा पनि, कहिल्यै रोकिएन । जनता सरकारी स्वामित्वको दूग्ध बिकास संस्थानको उत्पादनमा बिश्वासगर्ने, दूग्ध बिकास संस्थान मांग अनुसार दूधको सप्लाई गर्नै नसक्ने । निर्दलीय पन्चायत देखिको यो बिसंगति यो गणतन्त्रमा पनि जारी छ र सक्रिय रुपले जारीछ ।
प्राचीन सभ्यताको केन्द्र मानिएको ‘हिमवत्खण्ड’ शास्त्रहरुमा बर्णित शब्दमात्रै होइन, नेपालको बृहत्त सांस्कृतिक परिचयको मानक हो । नेपाल देश र नेपाली राज्यको इतिहास राजनीतिक र सांस्कृतिक भूगोलका दुइ पाटामा स्पष्टसंग बाँडिएका छन । यी दुबैको गति समान प्रकृतिको छ । नेपाल देश होइन, यो त एउटा सभ्यता हो – सम्पूर्ण सभ्यता । यो देशले आफनो त्यो परिचयलाई सामान्य मानेकोछ भने त्यो यस देशका जनताको महानता हो । यो देशमा ‘हिन्दूत्व’ को नाममा यतिखेर जसरी राजनीतिको रोटी पकाउने चलन शुरु भएको छ, त्यो नयाँ र अनौठो कुरा होइन । महत्वपूर्ण कुरा यतिमात्र हो कि – देशका जनता हिन्दू बहूल भएर पनि हामी नेपाली हिन्दूत्वको ‘हिन्दुस्तानी’ कर्मकाण्डी जन्जालमा फँसेका छैनौ । यो अर्कै कुरा हो, हिन्दू जनसंख्याको अन्तिम संस्कारका लागि ‘उनीहरु’ नदी किनारामा घाटहरुको निर्माण गर्दैछन । हामी उज्यालो लागि घरमा जडानगर्ने बिजुलीको अभाव भएपनि मृत देहहरुलाई खरानी बनाउन ‘इलेक्ट्रो–क्रिमेटोरियम’ को स्थापना गर्दैछौं ।
के यो ‘कन्ट्रास्ट’ होइन त ? कि यसैलाई बिकास भन्ने हो ? निजगढ, मधेशमा जंगल फाँडेर विमानस्थल बनाउन जुटेका सरकार र उनका सैन्यवललाई के भन्ने हो ? श्री ३ महाराजहरुको सरकारले ‘ब्रिटिश इण्डिया’ सरकारलाई रेलको पटरी बनाउन जंगल फाँडेर काठ ‘सप्लाइ’ गरेका थिए । यो सप्लाइबाट कति आम्दानी भयो ? त्यो कसैलाई थाह छैन । उतिबेला हिसावगर्ने कम्प्युटर थिएनन । जनताको भरगर्ने जमाना थिएन । जे थियो, श्री ३ महाराजको हुकुम थियो ।
देशमा पहिलो पटक ‘जनमत संग्रह’ सम्पन्न भएको थियो २०३६ सालमा । त्यो बेलासम्म काठमाडौं उपत्यका हिमवत्खण्डबाट चोइटिएर उछिट्टिएको थिएन । मेरो सम्झनामा शिवपुरीको जलाधार क्षेत्रबाट उपत्यकाको बाटोहुँदै दक्षिण रौतहटतिर बग्ने नदीहरुको प्रवाह अहिले दुर्गन्धित नालामा परिणतहुँदै गएका छन । भक्तपुरको पबित्रतालाई समेट्ने हनुमन्ते नदी र मनमती (मनोहरा), काठमाडौंको वागमती, रुद्रमती (धोवीखोला), इच्क्षुमती राजनदी (टुकुचा), बिष्णुमती र परापूर्वकालदेखि नै राजाका भाइ–भारदार काटिने भाचाखुशी – देखेर तमाम नदीहरुको बन्धनमा रहेको अविचलित उपत्यका काठमाडौं निसास्सिएको थियो । त्यस्तो के भएको थियो र जनमत संग्रहमा जसले पूरै काठमाडौं उपत्यकाका तीन शहरको श्वास–प्रश्वास अचानक बिथोल्यो ? हजारौ हजार बर्षदेखि वायुमण्डलमा स्वतन्त्र विचरण गरि रहेका शहर अनायास निसास्सिनु पर्ने यो के घटना भयो ? कस्तो घटना भयो ?
शंकाको घेराभित्र अनेक प्रश्नहरु थिए ः बहुदल कि निर्दल ? नीलो रंग कि पहेंलो रंग ? स्वतन्त्रता कि दासता ? राजाको शासन कि जनताको सरकार ? त्यतिखेरको कुरो संझिदा अहिले आश्चर्य लाग्दछ – सिंहाशनमा बस्नासाथ देशलाई शान्ति क्षेत्रका रुपमा बिकसितगर्ने राजाको चाहना र प्रतिबध्दताको गाँठो कहाँनिर फुस्कियो ? !
चार दशकभन्दा केही अगाडि काठमाडौं शहर ज्याँ जेनेको उपन्यास ‘मि¥याकल अफ दि रोज’ पढेर समय बिताउँथ्यो । नाटक निर्देशकहरु भन्छन नि – अभिनेताहरु जब त्राशदीपूर्ण अभिनयको चरम अवस्थामा पुगेका हुन्छन त्यसबेला उनीहरुको छाती रन्किएको हुन्छ । उनीहरुको लगातार दम बढन थाल्दछ । बढेको बढेकै गर्दछ । अभिनेता भाषान्तरको समस्यामा बल्झिन्छन । साथै, अर्थान्तरका समस्याहरु पनि बोक्दछन ।
जस्तो कि, फ्रान्सिसीहरु भन्दछन – प्रेम सँधै वियोगमा टुंगिन्छ । दुःखान्तमा सकिन्छ । त्यतिबेलाको ट्रेण्ड अनुसार सुप्रसिध्द लेखक तथा चिन्तक ज्याँ जेने ‘क्लासिक’ भै सकेका थिए । उनको प्रेम वियोगमा टुंगिएको थियो । हाम्रो शहरको झोंछेमा एलेन गिन्सबर्ग रमाउने गर्दथे र गाउँथे – अमेरिका, गो एण्ड फक वीथ योर एटम बम । गिन्सवर्गले गाएको कविताका शब्द सुनेर युवक र युवतीहरु लजाउँथे ।
म जन्मेको नुवाकोट जिल्लाको अर्चले (झिल्टुंग) गाउँमा हो । तर, मैले काठमाडौं शहरको खिचापोखरीमा बनेको एउटा सामान्य घरमा हुर्किने सौभाग्य पाएँ । काठमाडौं शहरले मलाई पहिचान दियो । अहिलेसम्म पनि यो पहिचान स्थीर छ । यसैलाई ओढेर, यसैमा गुटमुटिएर बाँचेको छु म । मलाई थाह छ ः शहर त्रूmर हुन्छ । यसले हतपती कसैलाई पहिचान दिदैन । जतिवेला पहिचान दिन्छ त्यसबापत कुनै आग्रह राख्दैन । एक समय थियो जब काठमाडौं एउटा सफा र समृध्द भान्साघर जस्तो थियो । अहिले त्यस्तो केही छैन । मिठाइमा काठमाडौंको आफनै मौलिक संस्कृति थियो ।
यतिवेला तनावग्रस्त छ काठमाडौं । अँध्यारो छिंडीमा बलेको जीरो वाटको गुलुपको अपर्याप्त प्रकाशमा उसको निधारमा परेको चाउरी देखिदैन । शहरको निधारमा परेका चाउरीलाई आँखाका परेलीले छोप्न सक्दैनन । शहरका सडकमा, गल्लीमा, चोकमा र भवनमा देखापर्ने सभ्यता अन्यत्र कतै देखा पर्दैन । शहर चीनियाँ उत्पादनका फेशनमा अलमलिएको छ । शहरको मौसम पनि त्यस्तै छ । मौसमी चीसोबाट जोगिन अलिकति मोटो ज्याकेट लगायो – गर्मी हुन थाल्दछ । अलिकति पातलो खालको हलुका ज्याकेट लगायो – चीसो हुन थाल्दछ ।
यो एउटा कुरा पक्कै हो, काठमाडौं शहरमा प्रतिदिन सभ्यता खडा हुन्छ र प्रतिदिन भत्किन्छ । कसैले भनेको थियो – काठमाडौं समृध्दिको टापू हो । यो सत्य कुरा हो । संसारकै गरीव देशहरु मध्येको एक भनेपनि, जे भने पनि, मलाई यति थाह छ – काठमाडौं साँच्चै समृध्दिको टापू हो । यहाँका कुख्यात र प्रख्यात दुबैथरि साहू–महाजनसंग औद्योगिक र ब्यबसायिक लगानीका लागि पैसा नै छैन । तर, शहरमा पैसाको दुःख पनि छैन । यो एकप्रकारको छल पनि हो । पन्चायतकालदेखि अहिलेसम्मका, कुनैपनि सरकारलाई यो थाह छैन, ठूलठूला पार्टीहरुमा हुने खर्चको रकम जतिसुकै ठूलो भएपनि, ती ‘प्रतिरक्षात्मक’ हुन्छन । उपत्यकामा आयोजनाहुने पार्टीहरुमा निम्त्याइएका सबै भद्रजनसंग ‘सूटिङ’ र ‘सेटिङ’ पनि हुँदैन । सुटिङ नभएपछि भद्रमहिलाका समस्या पनि उस्तै होलान । भाडामा कपडादिने कम्पनीहरु छन । भाडामा पाउन्जेलसम्म आफनै पोशाक भएपनि र नभएपनि के समस्या भयो र ?
किशोर नेपालकाे फेसबुकवालवाट