ठुलीभेरी, डोल्पा — ठुलीभेरी नगरपालिकाको रोजगार शाखा तथा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको ५० दिने सीपमूलक तालिम एक विशेष समारोहका बीच सफलतापूर्वक सम्पन्न गरिएको छ। “सीप सिकौं, रोजगार बनौं” भन्ने मूल नाराका साथ सम्पन्न यो तालिम वडा नं. ७ र ८ का ४० जनाकाे सहभागीता रहेकाे थियाे ।
तालिमको समापन नगर प्रमुख सुबर्ण कुमार बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।प्रमाणपत्र वितरण तथा तालिम समापन कार्यक्रममा नगर प्रमुख बुढाले तालिमबाट स्थानीय जनशक्तिमा सीपको विकास भई रोजगारीका अवसर सिर्जना हुने विश्वास व्यक्त गर्नु भयाे ।“कुनै न कुनै माध्यमबाट सम्पूर्ण जनशक्तिलाई परिचालन गर्न सकेमा समाज र राष्ट्र दुवैमा बेरोजगारी घट्नेछ, आत्मनिर्भरता प्रवर्द्धन हुनेछ र देश समृद्धिको यात्रामा अघि बढ्नेछ।
”नगर प्रमुख बुढाले भन्नू भयाे।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद रोकाया वडा नं. ७ का अध्यक्ष धुर्ब बिक्रम शाही वडा नं. ८ का अध्यक्ष मनराम ठकुल्ला र सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख रत्नबिर कठायत लगायतका अन्य नगरपालिका कर्मचारी तथा सरोकारवालाहरूकाे उपस्थिति रहेकाे थियाे ।
स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नेसीपयुक्त जनशक्ति उत्पादन गरी आत्मनिर्भरता अभिवृद्धि गर्ने व्यावसायिक दक्षता विकास गरी दीर्घकालीन आर्थिक सशक्तीकरणमा योगदान पुर्याउने उद्देश्यले तालिमकाे आयाेजाा गरिएकाे थियाे ।
तालिममा सहभागीलाई व्यावसायिक सीपहरू प्रदान गरिएका थिए जसले सहभागीहरूलाई स्वरोजगार वा उद्यमशीलताका क्षेत्रमा अगाडि बढ्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
नगरपालिकाले आगामी दिनमा पनि यस्ता तालिमलाई प्राथमिकतामा राख्ने र रोजगारीमैत्री कार्यक्रमहरूलाई निरन्तरता दिने घोषणा गरेको छ। स्थानीय तहमा यस्ता अभ्यासहरूले दीर्घकालीन सामाजिक र आर्थिक रूपान्तरणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।