विष्णुप्रसाद देवकोटा
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङमा निर्माण गर्न लागिएको पक्की पुल स्थानीयवासीको तीव्र विरोधका कारण पाँच महिनादेखि अवरुद्ध भएको छ। बस्तीभन्दा माथिको अनुपयुक्त स्थानमा पुल बनाउन लागिएको भन्दै स्थानीयले निर्माण कार्यमा अवरोध गर्दै आएका हुन्।
चीन–नेपाल हुँदै भारत जोड्ने त्रिदेशीय व्यापारिक मार्गको रूपमा चिनिएको भेरी करिडोरमा बन्ने सो पुलको विषयमा शनिबार जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर रोकायको नेतृत्वमा सर्वपक्षीय अनुगमन गरिएको थियो। अनुगमन टोलीले स्थानीयसँग छलफल गरे पनि निष्कर्षमा पुग्न सकेन।
‘जनताको आवाजको बेवास्ता गर्दै पुल निर्माण गरिएमा विरोध अझ बलियो हुनेछ,’ छलफलमा स्थानीय भक्तबहादुर रोकायले बताए। उनका अनुसार प्रारम्भिक अध्ययनका क्रममा पुल नभइ हाइड्रोपावरका लागि नापजाँच भइरहेको भनी जनतालाई झुक्याइएको थियो।
पुल निर्माणको विषयमा राजनीतिक दलहरूकै धारणा फरक परेको छ। नेपाली कांग्रेस, एमाले लगायतका प्रतिनिधिहरूले तोकिएको स्थानमै पुल बन्नुपर्ने अडान राखेका छन् भने माओवादीले स्थानीयको भावना अनुसार स्थान परिवर्तन हुनुपर्ने माग गरेका छन्।
नगर प्रमुख जनचन्द्र रोकायले आवश्यकता परे स्थान परिवर्तनका लागि पालिका तयार रहेको जनाउँदै विकास रोक्ने कार्य नगर्न आग्रह गर्नु भयाे प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले यो सडकले त्रिदेशीय सम्बन्धलाई जोड्ने भएकाले सबै पक्ष गम्भीर हुनुपर्ने बताउनु भयाे।
स्थानीयको माग अनुसार डीपीआर परिवर्तन गरी जनतालाई पायक पर्ने स्थानमा पुल निर्माण गरिनुपर्नेमा जोड दिइएको छ।
ठेक्का प्रक्रिया डीपीआरअघि नभईपछि हुनु पर्ने मागसहित खदाङका बासिन्दाले विरोध कायमै राखेका छन्।०८२ वैशाख २७ मा जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर राेकाया त्रिपुरासुन्दरी नगरपालिका प्रमुख जनचन्द्र राेकाया प्रमुख जिल्ला अधिकारी राेमबहादुर महत सहित स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र संचारकर्मी सहितले पुननिर्माण स्थलका बासिन्दासंग समस्या समाधानका लनगि छलफल अन्तरक्रिया मार्फत बार्ता गरिएकाे थियाे ।पक्की पुल निर्माणका लागि निर्माण सामाग्रीहरु निर्माण स्थलमा पुगेपनि स्थानीयकाे अवराेध पछि अलपत्र अवस्थामा छन ।

डोल्पा न्यूज । २८ बैशाख २०८२, आईतवार ०७:२८