विष्णुप्रसाद देवकोटा
डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा संयुक्त बजार अनुगमन गरिएको छ। हिउँद यामको सुरुवातसँगै हुन सक्ने कालोबजारी, महँगी र अखाद्य वस्तुको बिक्री रोक्न जिल्ला प्रशासन कार्यालय डोल्पा र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त टोलीले बुधबार त्रिपुराकोट बगर बजार क्षेत्रमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा किराना, तरकारी, मदिरा पसल, होटल लगायतका व्यावसायिक प्रतिष्ठानहरूमा लेबलविहीन र म्याद गुज्रिएका वस्तुहरू फेला परेका छन्।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय डोल्पाका प्रमुख खिम प्रकाश शाहका अनुसार करिब रु. २६ हजार ४ सय ३२ मूल्य बराबरका वस्तु बरामद गरी तत्काल नष्ट गरिएको हो। ती वस्तुमा मैदा, दालमोट, चीज बल, जुस, सस, कुखुराको दाना, आटा, सुजी, आइसक्रिम, चामल लगायतका दर्जनौँ सामग्री परेका थिए।
उनका अनुसार बजार अनुगमनको उद्देश्य कालोबजारी नियन्त्रण, म्याद गुज्रेका सामग्रीको बिक्रीमा रोक लगाउने र उपभोक्ताहरूलाई सचेत बनाउने रहेको छ।
अनुगमन टोलीका सदस्य तथा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलले अधिकांश पसलहरूमा मूल्यसूची र होर्डिङ बोर्ड नराखिएको बताएका छन्।
“गुणस्तरहीन तथा म्याद गुज्रिएका सामग्री बरामद गरेर नष्ट गरिएको छ,” पौडेलले बताए। उनले मूल्यसूची र होर्डिङ बोर्ड अविलम्ब टाँस्न निर्देशन दिँदै अर्को अनुगमनमा बेवास्ता गरे कारबाही गर्ने चेतावनी दिएका छन्।
व्यापारीहरूलाई म्याद गुज्रेका वस्तु बिक्री नगर्न र उपभोक्ताहरूलाई सामग्री खरिद गर्दा लेबल र म्याद मिति अनिवार्य हेर्न आग्रह गरिएको छ।
बजार अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी पौडेल, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख शाह, दत्त लामा, अक्कल बहादुर बडुवाल, कल्पना शाही, निरज घिमिरे, त्रिपुराकोट प्रहरी चौकीका प्रहरी तथा पत्रकारहरू सहभागी थिए।

डोल्पा न्यूज । २६ कार्तिक २०८२, बुधबार १९:०८