ताजा समाचार

ठुलीभेरी नगर प्रमुखको दरिलो निर्णय : आफैँ गाडी नचढी ३५ लाख नगर बस खरिदमा!

विष्णुप्रसाद देवकोटा

डोल्पा, असार ७ ।ठुलीभेरी नगरपालिकाका नगरप्रमुख सुबर्णकुमार बुढाले फेरि एकपटक उदाहरणीय निर्णय गरेका छन्। चालू आर्थिक वर्ष २०८२/०८३ का लागि उनले आफैले चढ्ने गाडी खरिद नगरी, उक्त शीर्षकमा विनियोजन गर्न सकिने ३५ लाख रुपैयाँ नगरबास सेवाको विस्तारमा लगानी गर्ने निर्णय गरेका हुन्।नगरकाे १५ आै नगरसभाकाे निर्णयबाट नगरप्रमुख बुढाले उक्त निर्णय गरेका हुन ।

यो निर्णय केवल आर्थिक मितव्ययिता होइन, जनताको दैनिक आवश्यकतालाई प्राथमिकतामा राखिएको नीतिगत प्रतिबद्धता पनि हो। नगर प्रमुख बुढाले अघिल्लो कार्यकालमै ३२ सिटे नगर बस खरिद गरिसकेका थिए। तर डोल्पाको बिशिष्ट भूगोल, वडाहरूको दूरी र जनसङ्ख्याको चापलाई मध्यनजर गर्दै अहिले १५ देखि १८ सिटे क्षमताको अर्को नगरबस थप गर्न लागिएको हो।

सदरमुकाम जस्तो व्यस्त केन्द्रको रूपमा रहेको ठुलीभेरीमा, यो बसले दुनै–जुफाल–माझफाल–काडाताली रूटमा नियमित सेवा प्रदान गर्नेछ। विशेष आवश्यकता अनुसार यस नगरबसलाई अन्य वडाहरूमा पनि परिचालन गरिने नगरपालिकाले जनाएको छ।

नगरप्रमुख बुढाको यस कदमले “नेतृत्व भनेकै सुविधामा होइन, सेवामा विश्वास गर्नुपर्छ” भन्ने सन्देश दिएको छ। गाडीमा चढ्ने लोभभन्दा नागरिकका लागि सुलभ यातायातको सुनिश्चिततालाई अघि राख्नु, स्थानीय सरकारका लागि अनुकरणीय अभ्यास बन्न सक्छ।

यसरी जनतामैत्री निर्णयका साथ ठुलीभेरी नगरपालिका अब दक्षिण एशियाकै उचाइमा रहेको नगर मात्र नभई दूरदर्शी नीतिका साथ अघि बढ्ने नेतृत्वको प्रतीक बन्दै गएको छ।

तपाईको प्रतिक्रिया