ताजा समाचार

शिक्षामा नयाँ मोड: ठुलीभेरीमा शैक्षिक गुणस्तर उकास्न समावेशी पहल

डोल्पा — ठुलीभेरी नगरपालिकाले नगरपालिका भित्रका विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै सरोकारवाला निकायलाई समेटेर पाँचदिने विशेष तालिम सुरु गरेको छ।

शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ तथा विद्यार्थी क्यारियर काउन्सिलिङका प्रतिनिधिहरु सम्मिलित गरी सुरु गरिएको तालिम आईतवार सदरमुकाम दुनै र जुफालमा एकैसाथ प्रारम्भ गरिएको हो।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलप्रसाद रोकायाका अनुसार तालिमको उद्देश्य शैक्षिक प्रणालीमा एकिकृत पाठ्यक्रम र सिकाइ अवधारणाको प्रभावकारी कार्यान्वयनसँगै शिक्षक र अभिभावकको भूमिका अझ स्पष्ट र प्रभावकारी बनाउनु रहेको छ। वाल विकास केन्द्रदेखि कक्षा ५ सम्मका शिक्षक तथा सरोकारवाला निकायहरूलाई समेटेर तालिम दिइँदैछ।

प्रशिक्षणमा एकीकृत सिकाइ सहजिकरणका विधि, विद्यार्थी बृत्ति परामर्श, प्रेरणादायक सन्देश लगायतका विषयमा ख्यातिप्राप्त प्रशिक्षकहरूले प्रशिक्षण दिइरहेका छन्।

नगर प्रमुख श्ववर्ण कुमार बुढाका अनुसार तालिमपछि नगरभित्रका बालबालिकाले फरक ढंगले शिक्षा हासिल गर्ने आशा गरिएको छ। “हामी शिक्षा र स्वास्थ्यप्रति गम्भीर छौं, परिणाम आउन समय लाग्न सक्छ, तर नागरिकले प्रत्यक्ष अनुभव गर्ने काम गरिरहेका छौं,” नगर प्रमुख बुढाले उल्लेख गरे।

तपाईको प्रतिक्रिया