डाेल्पान्यूज डेक्स
डाेल्पा , ५ असार ।
भेरी करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी–१, कान्छीबजार नजिकको छलगाड खोलाले अकल्पनीय रुपमा बहाव बढाएपछि सवारी आवागमन पूर्णतः अवरुद्ध भएको छ। असारको पहिलो साता पानी नपरेको जस्तो लागेपनि, एकाएक खोला उर्लिएर जमिन कटान गर्दै खाेल्सा बनाएपछि समस्या गम्भीर बनेको हो।
बाढीको चपेटामा परेपछि सदरमुकाम दुनैबाट नेपालगञ्ज र अन्य गन्तव्यतर्फ छुटेका गाडीहरू तथा नेपालगञ्ज हुँदै दुनैतर्फ आइरहेका गाडीहरू दुवै छेउमा थन्किएर रोकिएका छन्। यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
अझ चकित पार्ने कुरा के भने—पुल निर्माणको काम सुरु गरिए पनि बर्षा लाग्यो भन्ने नाममा निर्माणकार्य ठप्प छ। सम्बन्धित निकायले असार मसान्तभित्र पुल सम्पन्न गर्ने प्रतिवद्धता जनाएको भए पनि त्यो अहिले ‘कागजी सपना’ बन्न पुगेको छ।
मनसुनको आधिकारिक सुरुआत नभए पनि खोला बढ्न थालेकोले डोल्पामा सवारीको नियमितता धरापमा परेको छ। यस क्षेत्रको सडक सुरक्षासम्बन्धी दीर्घकालीन योजना र तात्कालिक वैकल्पिक व्यवस्था नहुँदा डोल्पाका जनता बारम्बार यस्तै प्राकृतिक संकटको चपेटामा पर्न बाध्य छन्।

डोल्पा न्यूज । ५ असार २०८२, बिहीबार ०९:२०