ताजा समाचार

डोल्पाको भूमिमा छायाँङ्कन हुने टेलिचलचित्र कल्मलीको शुभमुर्हत कार्यक्रम सम्पन्न

विष्णुप्रसाद देवकोटा

मध्यमपश्चिम क्षेत्रको प्रमुख धार्मिक शक्तिपीठ श्रीवालात्रिपुरासुन्दरी भगवती मन्दिरमा टेलिचलचित्र कल्मलीको शुभमुर्हत कार्यक्रम सम्पन्न भएको छ ।

श्री माता त्रिपुरासुन्दरी मिडिया प्रालीको ब्यानरमा निर्माण गरिने टेलिचलचित्र कल्मलीको मन्दिरमा विशेष पुजाआजा गरेर शुभमुर्हत कार्यक्रम गरिएको हो ।

भौगोलिक विकटता, अशिक्षा आर्थिक विपन्नताका कारण डोल्पाले भोग्नुपरेका कथा बस्तुलाई समेटेर निर्माण गरिन लागिएको टेलिचलचित्र कल्मलीमा डोल्पाली जीवनशैलीलाई मात्र नभएर प्राकृतिक सम्पदाले भरिपुर्ण भएर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको धार्मिक तथा सांस्कृतिक सम्पदाहरुलाई पनि समेटिने निर्माण पक्षले जनाएको छ ।

बसन्त उदासको विशेष निर्देशनमा निर्माण हुन लागेको कल्मलीको निर्माणकर्ता हरिपन्थी र रुपचन्द्र बुढा रहनु भएको छ ।तीन देखि चार भाग सम्म निर्माण हुने कल्मलीको सम्पूर्ण छायाँङ्कन डोल्पाको भूमिमा गरिने र यो चलचित्रको छायाँङ्कन अवधी झण्डै पन्ध्र दिन सम्म लाग्ने निर्देशक बसन्त उदासले जानकारी दिनु भयो ।

उहाँका अनुसार जिल्लामा ब्याप्त जातीय छुवाछुत र महिला माथि हुने गरेको घरेलु हिंसालाई उजागर गरिएको अधुरा कथा समेत हो कल्मली ।

डोल्पाका पर्यटकीय र धार्मिक स्थलहरुमा छायाँङ्कन हुने कल्मलीमा लाटा काकु(रुपचन्द्र बुढा)विरमान(लक्ष्मण देवकोटा)सुनकला (तलिसा गुरुङ)रामेश्वर(विकेश बोहोरा)राक्ती (सम्राट केसी)जमुना(एन्जिला पन्थी)चुम्पी(निरुता केसी)दिनेश (टेक शाही)विना (रितु गुरुङ)माली (रमिता खड्का)जुनेली(तारादेवी चलाउने)विर्खे(किस्मत शाही)र उज्वल (बसन्त उदास)को अभिनय रहने छ ।

कल्मलीको शुभमुर्हत कार्यक्रममा शुभकामना दिदै त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर थापाले डोल्पामा रहेका धार्मिक सांस्कृतिक पक्षका साथै विभेद अन्धविश्वास र पर्यापर्यटनका विषयबस्तुलाई समेत समेटेर साच्चिकै कल्मलीको रुपमा अधुरा रहेका विषय र क्षेत्रलाई प्रचारप्रसार गरि पर्यटन प्रवर्दनका साथै चलचित्रको विकासमा समेत टेवा पुग्ने अपेक्षा आफुले लिएको बताउनु भयो ।

कल्मलीको शुभमुर्हत कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका उपप्रमुख देवी घर्ती वडानम्बर १ का वडाअध्यक्ष रामचन्द्र कुलाल लगायतका विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया