ताजा समाचार

डाेल्पाकाे धो शाखामा नगद अभाव, यार्सागुम्बा सस्तोमा बेच्न बाध्य सर्वसाधारण

डाेल्पान्युज डेक्स 

डाेल्पा, साउन २३ गते।राष्ट्रिय वाणिज्य बैंकको डोल्पास्थित धो शाखामा नगद अभाव भएपछि सर्वसाधारण गम्भीर समस्यामा परेका छन्। बैंक खातामा रकम भए पनि निकाल्न नसकिने अवस्था सिर्जना भएको जनगुनासो छ।

चिनको व्यापार मेलामा सहभागी हुन तयारी गरिरहेका स्थानीयहरू पनि नगद अभावका कारण यात्रा खर्च जुटाउन असमर्थ भएका छन्। डोल्पो बुद्ध गाउँपालिकाका अनुसार बैंकलाई दुई करोड रुपैयाँ ल्याउन अनुरोध गरिएको थियो, तर बैंकले चार करोड रुपैयाँ ल्याएको बताइएको छ। तर, ती रकम छोटो समयमा नै सकिएको बैंकले जनाएको छ।

स्थानीयवासी ग्याल्पो डोल्पाेपाका अनुसार, “चार करोड रुपैयाँमध्ये अधिकांश रकम व्यापारीहरूलाई मात्र दिइएको” भन्ने गुनासो पनि उठेको छ। बैंकको जिम्मेवार कर्मचारीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

नगद अभावका कारण ग्रामीण भेगका सर्वसाधारण यार्सागुम्बा जस्ता बहुमूल्य जडिबुटी सस्तो मूल्यमा बेच्न बाध्य भएका छन्। यस्तो अवस्था दीर्घकालीन रूपमा दोहोरिन नदिनका लागि डोल्पो बुद्ध गाउँपालिकालाई तत्काल समाधानतर्फ ध्यान दिनु पर्ने माग स्थानीय तहबाट उठेकाे छ ।

तपाईको प्रतिक्रिया