ताजा समाचार

कांग्रेस आफ्नाे अडानबाट भएन टसमस,अप्ठ्यारोमा गृहमन्त्री लामिछाने

काठमाडौं । सभामुख देवराज घिमिरेले आह्वान गरेको बैठकमा दलहरूले आ–आफ्नै अडान कायम राखेका छन् । सोमबार दिउँसो सभामुखको आग्रहमा बसेको बैठकमा दलहरूले आफ्नो अडान नछाड्ने भएका हुन् ।

भोलि मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा अवरोध हुने संकेत देखेसँगै सभामुख घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासहित प्रमुख सचेतकलाई बैठकमा बोलाएका थिए । बैठकमा दलहरूले आफ्नो अडान कायमै राखेका हुन् ।

यसअघि बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको थियो । आजको बैठकमा कांग्रेसले सोही मागलाई दोहोर्‍याएको छ । यता सत्ता पक्ष दलहरूले समितिको आवश्यकता नभएको भन्दै कांग्रेसको मागलाई अस्वीकार गरे ।

बैठकबाट बाहिरिने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले दलहरूबीच सहमति हुन नसकेको बताए । पत्रकारले सहमति भयो ? भनेर सोधेको प्रश्नमा उनले भने, “भएन, भएन ।”

सहमति नभएको बैठकबाट बाहिरिँदै गर्दा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसद अवरुद्ध हुनसक्ने संकेत गरेका छन् ।

“हामीले हाम्रो कुरा स्पष्ट राखेका छौँ, सरकार गम्भीर हुन मानेको छैन, अब कुनै कामकाज अवरुद्ध भए त्यसको जिम्मेवारी सरकारले लिनु पर्दछ”, उनले भने, “सरकार कसरी प्रस्तुत हुन्छ ? त्यसमा भर पर्छ ।”

यस्तै, उनले बहालवाला मन्त्रीहरूले सहकारीमार्फत लाखौँ नेपालीको बचत रकम हिनामिना र ठगी गरेको बताए । यस क्रममा उनले यसबारे अनुसन्धान गर्न समितिको माग राखेको बताएका थिए ।

“लाखौँ लाख नेपालीको पैसा सहकारीमा बचत गरिएको छ, देशका विभिन्न सहकारीमा रकमको अपचलन गर्ने, दुरुपयोग गर्ने, ठगी गर्ने काम भएका छन्”, उनले भने, “यो सन्दर्भमा बहालवाला मन्त्री जीहरूकै कुरा उठिराख्या छ, हामीले त्यसमा संसदीय समिति माग गरेका छौँ ।”

प्रमुख प्रतिपक्षी दलले आफूमाथि अनुसन्धान गर्न वा राजीनामा माग्दै आएपछि गृहमन्त्री लामिछाने कठिन मोडमा पुगेका छन् । उनले मंगलबार प्रतिनिधिसभा बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्य तालिका रहेको छ ।

तर, कांग्रेसले गृहमन्त्री लामिछाने संसदको रोष्ट्रममा गए बैठक अवरोध गर्ने बताउँदै आएको छ । यस्तो अवस्थामा सभामुखले सहमति गराउन आशा गरेका लामिछानेले बैठक निर्णयमा पुग्न नसकेको बताए ।

उनले भने, “फेरि बस्ने कुरा भएको छ, पूरा भएको छैन, अधुरो भएको छ कुराकानी ।”

यता, सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले पनि गृहमन्त्रीमाथि छानबिन गर्न समितिको माग गर्नु जायज नभएको बताएको छ । एमाले सचेत महेश बर्तौलाले आफूहरूले प्रष्ट रुपमा कुरा राख्दै आएको बताउँदै गृहमन्त्रीले सहकारी ठगी गरेको विषय तथ्यपूर्ण नभएको बताए ।

“भोलिको बैठक सहज गर्न हामीले प्रमुख प्रतिपक्षीलाई आग्रह गर्यौं, उहाँहरूले आफ्ना यथावत मागहरू राख्नु भएको छ, हामीले भन्यौँ यो तथ्यपूर्ण छैन, राजनीतिक पूर्वाग्रहमा छ भन्यौँ”, उनले भने, “छानबिन समिति बन्न सक्दैन भन्नेमा हामीले प्रष्ट भनेका छौँ, कांग्रेसले मागेको माग जायज छैन ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रले पनि कांग्रेसले उठाएको माग सही नभएको जनाएको छ । पार्टीका सचेतक हितराज पाण्डे भोलिदेखि सरकारले संसदको कार्यक्रमलाई निरन्तरता दिने बताए ।

“हामी भोलिदेखि सदनमा सबै गतिविधिलाई अगाडि बढाउँछौँ, उहाँहरूको माग सही छैन, भोलि त गृहमन्त्री ज्यूको राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्य तालिका छ”, उनले थपे, “त्यहीबेला गृहमन्त्रीले बोल्नु पर्ने विषय वस्तु पनि छ, अरु बाँकी रहेको विषयवस्तु भोलि नै हेर्ने भयो ।”

गृहमन्त्री लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नियतवश फसाउन कांग्रेस लागेको आरोप लगाएको छ । आजको बैठकपछि पार्टी सचेतक सन्तोष परियार मिथ्या अरोप लगाएर गृहमन्त्रीलाई फसाउन लागेको दाबी गरेका हुन् ।

“मिथ्या आरोप लागेको भरमा समिति नै चाहिन्छ भन्ने यो कुुटिल चाल हो, हामीले हाम्रो नैतिकतालाई बलियो बनाउनु पर्छ, कोही मान्छेलाई नियतवश फसाउनका लागि समिति बन्दैन, जनता लुटियो भनेर कसैलाई बलीको बोका बनाउन पाइँदैन”, उनले भने ।

सभामुख घिमिरेले बोलाएको बैठकमा जानुअघि नै कांग्रेसले संसदीय छानबिन समिति बनाउने अडान कायमै राख्ने विषयमा निर्णय गरेको थियो । पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आफूहरूले उठाएको माग कायमै राख्ने निर्णय गरेको हो ।

यसबारे थप रणनीति बनाउन भोलि बिहान कांग्रेस संसदीय दल कार्य समितिको बैठक आह्वान गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकले संसदको आगामी बैठकको तयारीबारे छलफल हुने पार्टी कार्यालयले जनाएको छ

तपाइको प्रतिक्रिया

error: Content is protected !!