ताजा समाचार

शे–फोक्सुण्डोमा १२० हिउँ चितुवा भेटिए

विष्णुप्रसाद देवकोटा

डोल्पा भदौ ११ गते ।शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा १ सय २० वटा हिउँ चितुवा भेटिएको छ। निकुञ्जले झन्डै पाँच महिना लगाएर क्यामेरा ट्र्यापिङ विधिबाट गरेको गणनामा निकुञ्जभित्र ९० र आसपासका राष्ट्रिय वन क्षेत्रमा ३० वटा हिउँ चितुवा पुष्टि गरिएको हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार संरक्षण क्षेत्रमा प्रति सय वर्ग किलोमिटरमा हिउँ चितुवाको घनत्व २.२ रहेको पाइएको छ, जुन नेपालकै उच्च हो। गणनाका लागि वन क्षेत्रमा ६६ स्थानमा क्यामेरा जडान गरिएको थियो।

उनका अनुसार विश्वमा दुर्लभ मानिने हिउँ चितुवा एसियाका १२ राष्ट्रमा मात्र पाइन्छ। आवश्यक आहारा प्रजाति झारल, घोरल र नाउरको संख्या बढेसँगै हिउँ चितुवाको संख्या पनि बढेको देखिएको छ। निकुञ्ज क्षेत्रमा झारल, घोरल र नाउरको संख्या झन्डै ४ हजार रहेको तथ्यांक छ।

‘हिउँ चितुवाको संख्या बढ्दा निकुञ्जको पारिस्थितिकी सन्तुलनसँगै पर्यापर्यटनमा पनि टेवा पुगेको छ,’ अर्यालले भने।

२०४० सालमा स्थापना भएको निकुञ्ज ३ हजार ५५५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। यसअन्तर्गत डोल्पाका तीन र मुगुको मुगुम्कार्मारोङ गाउँपालिका पर्दछन्।निकुञ्जका तथ्यांकअनुसार यो वर्ष झन्डै १० हजार पर्यटक शे–फोक्सुण्डो घुम्न पुगेकाे निकुञ्जले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया