विष्णुप्रसाद देवकोटा
डोल्पा, जेठ १५ – “सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय संकल्पसहित गणतन्त्र र शासकीय सुधारका लागि हातेमालो गरौं” भन्ने मूल नाराका साथ डोल्पामा १८औं गणतन्त्र दिवस भव्यताका साथ विविध कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरिएको छ।
दिवसको औपचारिक कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गरेका जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले शहीदहरूको महान बलिदानले संभव बनाएको गणतान्त्रिक व्यवस्थाको संरक्षण र संवर्द्धन सबै नागरिकको साझा जिम्मेवारी रहेको स्पष्ट पार्नुभयो। उहाँले गणतन्त्र केवल शासनको परिवर्तन नभई सामाजिक रूपान्तरणको प्रेरणा भएको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय उपप्रमुख तेजेन्द्र बुढाले लोकतान्त्रिक उपलब्धिहरूलाई संस्थागत गर्दै अघि बढ्न राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजबीच समन्वय अपरिहार्य रहेको बताउनुभयो।
गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा विविध राजनीतिक दलका प्रतिनिधिहरू, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा संचारकर्मीहरूको उपस्थिति थियो। नेकपा (माओवादी केन्द्र) का ओमेन्द्र केसी, नेकपा (एमाले) डोल्पा अध्यक्ष लंकबहादुर रोकाया, नेपाली कांग्रेसका सचिव हिक्मतबहादुर शाहीलगायत वक्ताहरूले गणतन्त्रलाई समावेशी, समान र जनउत्तरदायी बनाउनेतर्फ सबैको ध्यान केन्द्रित गरिनुपर्नेमा जोड दिनुभयो। उनीहरूले गणतन्त्र दिवसलाई शहीदहरूको सपनाको सम्मानस्वरूप मनाइनुपर्ने धारणा राखे।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले गणतन्त्र प्रणाली अब बालकबाट जवान भइसकेको भए पनि अपेक्षित जनअनुभूतिमा चुकिरहेको स्वीकार गर्दै समावेशिता, संघीय अभ्यासको स्पष्टता र दक्ष जनप्रतिनिधिको अभावले नागरिक विश्वास कमजोर बन्न गएको उल्लेख गर्नुभयो।
यद्यपि कार्यक्रमको आयोजना औपचारिकरूपमा सम्पन्न भए पनि सर्वसाधारणको उपस्थिति न्यून रहन गएको थियो। स्थानीयवासीहरू यार्चागुम्बा संकलनका लागि पाटनमा रहेकाले सहभागी कम भएको आयोजकहरूले जनाएका छन्।
दिवसको अवसरमा प्रभातफेरीद्वारा सुरु भएको कार्यक्रम विभिन्न सामाजिक उत्तरदायित्वका गतिविधिसमेत समेट्दै सम्पन्न भयो। जिल्ला कारागार डोल्पामा रहेका कैदीबन्दी र थुनुवाहरूका लागि एक थान नेट झाली र एक थान भलिबल दुईथान लुडाे र एक थान चेस वितरण गरिएको छ। त्यस्तै, जिल्ला अस्पताल डोल्पामा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरियो। यी सामग्रीहरू सामाजिक विकास कार्यालयको सहयोगमा उपलब्ध गराइएको थियो।
फलफूल तथा खेलकुद सामग्री वितरण कार्यक्रम जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकाया र प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत नेपाली कांग्रेसका पाटी सचिव हिक्मत शाही नेकपा माओवादी केन्द्रका प्रतिनिधि ओमेन्द्र केसी सामाजिक विकास कार्यालयका प्रमुख दुर्गा विष्ट राष्ट्रिय अनुसन्धानकम मेगराज कडेल र उद्योग बार्णिज्य संघका लालिमान बुढाकाे विशेष उपस्थितिमा सम्पन्न भएको थियो।
गणतन्त्र दिवसले डोल्पामा समर्पण, सहकार्य र सामाजिक सरोकारलाई पनि आत्मसात् गर्दै जनचेतनाको सन्देश फैलाएको देखिएको छ।

डोल्पा न्यूज । १५ जेष्ठ २०८२, बिहीबार १३:४२