ताजा समाचार

डोल्पाको दुनै बजार व्यवस्थापनका लागि १३ बुँदे गुरु योजना तयार

लेख बुढा

डोल्पा भदौ ४ । डोल्पाको सदरमुकाम दुनै बजारलाई व्यवस्थित र सुन्दर बनाउन १३ बुँदे गुरु योजना तयार गरिएको छ। बुधवार  जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायाको अध्यक्षतामा राजनीतिक दलका प्रमुख, प्रतिनिधि तथा सरोकारवाला निकायहरूको सहभागितामा भएको बैठकले योजना तयार गरेको हो।

जिसस प्रमुखको कार्यकक्षमा बसेको बैठकले प्रारम्भिक चरणमा पुर्वाधार विकास कार्यालय डोल्पाले डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्ने निर्णय गरेको छ। योजना अन्तर्गत केही गतिविधि तत्कालै पुर्वाधार विकास कार्यालयकै बजेटबाट सञ्चालन गर्ने र केहीका लागि सम्बन्धित निकायसँग पहल गर्ने सहमति भएको छ।

१३ बुँदे गुरु योजनाअन्तर्गत दुनै बजारमा ढल निकास व्यवस्था गर्ने, माथिल्लो सडकदेखि तल्लो बजार जोड्ने शाखा सडक निर्माण गर्ने, तिप्ला पानी क्षेत्रमा रिङरोड निर्माण गर्ने, कालिका मन्दिरदेखि जगत हुँदै लामालोटेसम्म साइक्ल ट्रेल निर्माण गर्ने, माथिल्लो दुनै रिङरोडमा ग्राभेल हाल्ने, सशस्त्र क्याम्पदेखि क्याम्पस हुँदै जिल्ला अस्पतालसम्म सडक स्तरोन्नति गर्ने, तिप्ला खोलामा बेलिब्रिज निर्माण गर्ने, कालिका मन्दिर क्षेत्रमा भूमिगत जिप पार्क निर्माण गर्ने, जगतदेखि जिप पार्कसम्म सडक स्तरोन्नति गर्ने, दुनैमा संग्रहालय निर्माण गर्ने, लामालोटे पारिको डाँडामा रेलिङसहित सिँढी तथा पार्किङ निर्माण गर्ने, मन्दिर निर्माण र वृक्षरोपण गर्ने, धुपीचौरमा बुद्ध पार्क निर्माण गर्ने तथा कोल्ड स्टोर (बृहत् शीत भण्डार) निर्माण गर्ने लगायतका कार्य समावेश छन्।

दुनै बजारलाई पर्यटकीय र जिल्लाकै प्रमुख आकर्षण केन्द्रका रूपमा अघि बढाउन विकास निर्माणको शैली परिवर्तन गर्न आवश्यक भएको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख रोकायाले बताए।

तपाईको प्रतिक्रिया