विष्णुप्रसाद देवकोटा
डोल्पा ।डोल्पा जिल्लाको काईके गाउँपालिका–५, बैजिबारा गाउँस्थित बोन धर्मको ऐतिहासिक तथा पवित्र तीर्थस्थल **नेछेन रिवो वाल्भार (धालढुंगो)मा १००औं तीर्थमेला भव्यताका साथ सम्पन्न भएको छ।
बोन धर्मका संस्थापक अठौं बुद्ध टोनपा शेनरापले कैलाश पर्वत आसपासको क्षेत्र भ्रमण गर्ने क्रममा शिक्षा र बोनको नौ मार्ग प्रचार–प्रसार गर्न यहाँ आफ्नो पदचिह्न छोड़ेका थिए भन्ने मान्यता छ। त्यसपछि तिब्बतको खाम क्षेत्रबाट आएका महासिद्ध लामा लामाम्हेलाले यस तीर्थस्थल नजिकैको पुक्मुचे गुफामा लामो समयसम्म ध्यान साधना गरेका थिए।
करिब सय वर्षअघि फोक्सुन्डो पुक्मोका महायोगी रिन्पोछे करुडवाङ्गका अवतार नामग्याल शेराप ग्याल्छेनले भोटको पात्रो अनुसार आगो बाघ वर्षमा यस तीर्थको विशेष उद्घाटन गरेका थिए। यहाँ विभिन्न प्रसिद्ध लामाहरूका पदचिह्न ढुङ्गामा आज पनि देख्न सकिन्छ ।
सेतेन युङ्डुङ सुक्छाल गुम्बामा बोन धर्मका पुजनीय खेन्पाे रिन्पोछे श्री मुरि निक्मा कुन्क्याप रोकायाबाट पुर्णिमाकाे दिन श्रद्धालु भक्तजनहरुले दिर्घायु सम्बन्धी प्रवचन र आशीर्वाद ग्रहण  गरेका थिए।
समापन समारोहका प्रमुख अतिथि नेपाल बोन बुद्धिष्ट महासंघका महासचिव इन्द्र रोकाया शेरापले नेपालमा रहेको प्राचीन बोन बौद्ध धर्म प्रकृति र मानव जीवनको हितका लागि महत्वपूर्ण ऐतिहासिक सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षण र विकासमा जोड दिए।

डोल्पा न्यूज । १ आश्विन २०८२, बुधबार २०:४०