ताजा समाचार

फाइबर लाइन काटिँदा डाेल्पाका सरकारी कार्यालयहरुकाे भुक्तानी प्रक्रिया प्रभावित

विष्णुप्रसाद देवकोटा

जाजरकोटको नलगाड हुँदै रुकुम पश्चिमको आठबिसकोट क्षेत्र पार गर्दै सिङ्गो डोल्पा जिल्लालाई जोड्ने नेपाल टेलिकमको ADSS फाइबर लिंकमा पुनः अवरोध सिर्जना भएको छ। जाजरकोट र राडीबीचको खण्डमा यो फाइबर लाइन बारम्बार काटिँदा सेवा प्रवाहमा गम्भीर समस्या देखिएको छ।

यसै साता शुक्रबार मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको लाइन बुधबार पुनः काटिएपछि डोल्पा सम्पर्कविहीन बन्न पुगेको हो। लगातार फाइबर अवरोध हुँदा आर्थिक वर्षको अन्त्यमा हुने विभिन्न सरकारी तथा बैंकिङ भुक्तानी प्रक्रिया समेत प्रभावित भएको नेपाल टेलिकम डोल्पाका प्राविधिक नवराज भट्टराईले जानकारी दिए।

उक्त ADSS लिंकबाट FTTH सेवा, मोबाइल टावरहरू, बैंकहरूको इन्टरनेट लिज, NTTV लगायतका सम्पूर्ण टेलिकम सेवा सञ्चालन हुँदै आएका छन्। लाइन काटिने क्रम दोहोरिँदा डोल्पाली जनताले आधारभूत सञ्चार सेवा समेत सहज रूपमा पाउन नसकेको गुनासो बढ्दै गएको छ।

प्राविधिक भट्टराईका अनुसार लाइन नियमित अवरोध हुनुको कारण पत्ता लगाई दीर्घकालीन समाधान खोजिनुपर्ने आवश्यकता छ। यो समस्या समाधान नभएसम्म डोल्पामा सञ्चार तथा सूचना प्रवाह निरन्तर संकटमा पर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया